फकल्यान्ड टापु नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल

काठमाडौं । फकल्यान्ड टापु नजिक प्रस्तावित तेल उत्खनन परियोजना रोक्न अर्जेन्टिनाले गरेको प्रयास असफल भएको छ। संयुक्त राष्ट्रसंघसमर्थित अन्तर्राष्ट्रिय समुद्री कानुनसम्बन्धी न्यायाधिकरणले अर्जेन्टिनाको माग अस्वीकार गरेको हो।

अर्जेन्टिनाले फकल्यान्ड टापुको सार्वभौमसत्तासम्बन्धी विवाद कायमै रहेको दाबी गर्दै ‘सी लायन’ तेल क्षेत्रमा हुने उत्खनन रोक्न माग गरेको थियो। बेलायतले भने फकल्यान्ड टापु आफ्नो अधीनमा रहेको र अर्जेन्टिनाको दाबी अस्वीकार गर्दै आएको छ।

अन्तर्राष्ट्रिय समुद्री कानुनसम्बन्धी न्यायाधिकरणका अध्यक्षले शनिबार सार्वभौमसत्तासम्बन्धी प्रश्नमा फैसला गर्ने अधिकार आफ्नो अदालतसँग नरहेको बताएका थिए। उक्त निर्णयको पक्षमा १८ र विपक्षमा तीन मत परेको थियो।

फैसलापछि अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले निर्णयलाई अन्तिम नभएको प्रतिक्रिया दिएका छन्। उनले ‘फकल्यान्ड टापु अर्जेन्टिनाको हो’ भन्ने आफ्नो देशको दाबी दोहोर्‍याएका छन्।

बेलायतका विदेशमन्त्री एड मिलिब्यान्ड र महान्यायाधिवक्ता एली रिभ्सले संयुक्त वक्तव्य जारी गर्दै अर्जेन्टिनाले फकल्यान्ड टापुवासीलाई आफ्नो भविष्य निर्धारण गर्ने अधिकारको सम्मान गर्नुपर्ने बताएका छन्। उनीहरूले अर्जेन्टिनालाई टापुविरुद्धको व्यापक आर्थिक दबाब अन्त्य गर्न पनि आग्रह गरेका छन्।

‘सी लायन’ तेल क्षेत्र फकल्यान्ड टापुबाट करिब २०९ किलोमिटर टाढा रहेको छ। उक्त क्षेत्रमा करिब १ अर्ब ७० करोड ब्यारेल तेल रहेको अनुमान गरिएको छ। बेलायतको रकहपर एक्सप्लोरेसन र इजरायलको नाभिटास पेट्रोलियमले आगामी दुई वर्षभित्र तेल उत्खनन सुरु गर्ने तयारी गरेका छन्।

अर्जेन्टिनाले विवादित समुद्री क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री वातावरणको संरक्षण हुनुपर्ने दाबी गरेको थियो। साथै, सार्वभौमसत्तासम्बन्धी विवाद समाधान नभएसम्म परिस्थितिमा परिवर्तन ल्याउने गतिविधि, तेलको इनार निर्माणलगायतका काम रोक्नुपर्ने उसको तर्क थियो।

बेलायतले भने समुद्री कानुनसम्बन्धी न्यायाधिकरणलाई सार्वभौमसत्ताको विवादमा निर्णय गर्ने अधिकार नभएको बताउँदै परियोजना रोकिँदा फकल्यान्ड टापुको अर्थतन्त्र, स्थानीय बासिन्दा र तेल परियोजनासँग जोडिएका कम्पनीमा ठूलो असर पर्ने जनाएको थियो।

फैसलापछि अर्जेन्टिनाले आफूले अदालतसमक्ष फकल्यान्डको सार्वभौमसत्ताबारे निर्णय गर्न नभई संयुक्त राष्ट्रसंघको समुद्री कानुन बेलायतमाथि लागू गर्न माग गरेको स्पष्ट पारेको छ। अर्जेन्टिनाले तेल उत्खननमा संलग्न पाँच जनामाथि प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ। ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।

अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। सन् १९८२ मा दुवै देशबीच ७४ दिनसम्म युद्ध भएको थियो। युद्धमा २५५ बेलायती सैनिक, तीन जना फकल्यान्डवासी र ६४९ अर्जेन्टिनी सैनिकको मृत्यु भएको थियो।

युद्धमा पराजित भए पनि अर्जेन्टिनाले फकल्यान्ड टापुमाथि आफ्नो दाबी कायम राख्दै आएको छ। बेलायतले भने टापुको सार्वभौमसत्ता आफ्नो रहेको र त्यहाँका बासिन्दालाई आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताउँदै आएको छ।

सन् २०१३ मा फकल्यान्ड टापुमा भएको जनमतसंग्रहमा ९९.८ प्रतिशत मतदाताले बेलायती अधीनस्थ क्षेत्रका रूपमा रहन पक्षमा मतदान गरेका थिए भने केवल तीन जनाले विपक्षमा मतदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *