अन्तरिक्षमा १० लाख डाटा सेन्टर स्थापना गर्न स्पेसएक्सलाई अमेरिकाको अनुमति
काठमाडौं । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले एलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा १० लाखसम्म कम्प्युटिङ मोड्युलसहितको डाटा सेन्टर स्थापना गर्न अनुमति दिएको छ। कृत्रिम बौद्धिकता (एआई) का लागि बढ्दो कम्प्युटिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले स्पेसएक्सले ‘स्टारमाइन्ड’ नामक परियोजना अघि बढाएको हो।
एफसीसीका अनुसार अमेरिकाको इतिहासमै पहिलोपटक अन्तरिक्षमा यति ठूलो संख्यामा कक्षीय कम्प्युटिङ मोड्युल स्थापना गर्ने अनुमति दिइएको हो। एफसीसीले बुधबार जारी गरेको विज्ञप्तिमा यस्ता मोड्युलले ठूलो मात्रामा डाटा प्रशोधन गरी पृथ्वीमा प्रयोग हुने बताएको छ।
एफसीसी अध्यक्ष ब्रेन्डन कारले यो निर्णयले अमेरिकाको कम्प्युटिङ पूर्वाधार विस्तारसँगै अन्तरिक्ष र एआई क्षेत्रमा अमेरिकी नेतृत्वलाई थप बल पुग्ने बताएका छन्।
स्पेसएक्सका प्रमुख एलन मस्कले पनि एफसीसीको निर्णयको स्वागत गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा यो परियोजना अमेरिका र विश्वकै लागि महत्वपूर्ण सम्पत्ति बन्ने बताएका छन्।
एफसीसीका अनुसार स्वीकृतिले स्पेसएक्सलाई अन्तरिक्ष तथा कृत्रिम बौद्धिकतासम्बन्धी नयाँ प्रविधिको विकास गर्न बाटो खोल्नेछ। एआई प्रणाली सञ्चालनका लागि ठूलो मात्रामा विद्युत् आवश्यक पर्ने भएकाले डाटा सेन्टरहरू एआई पूर्वाधारका महत्वपूर्ण आधार मानिन्छन्।
स्पेसएक्सले ‘स्टारमाइन्ड’ परियोजनाका लागि यसै वर्ष अनुमति मागेको थियो। यद्यपि, कम्पनीले वास्तवमै १० लाखवटै उपग्रह वा कम्प्युटिङ मोड्युल अन्तरिक्षमा पठाउने हो वा होइन भन्ने स्पष्ट छैन। हाल अन्तरिक्षमा करिब १७ हजार उपग्रह सञ्चालनमा रहेको अवस्थामा एकै परियोजनाअन्तर्गत १० लाख मोड्युल पठाउने योजना निकै ठूलो मानिएको छ।
उपग्रह सञ्चालकहरूले भविष्यमा डिजाइन तथा सञ्चालनमा लचिलोपन कायम गर्न आफूले वास्तवमा प्रक्षेपण गर्नेभन्दा बढी संख्यामा उपग्रहका लागि अनुमति माग्ने गरेका छन्। स्पेसएक्सले पनि स्टारलिंक परियोजनाका लागि सुरुमा ४२ हजार उपग्रह प्रक्षेपणको अनुमति मागेको थियो। हाल स्टारलिंक नेटवर्कअन्तर्गत ११ हजारभन्दा बढी उपग्रह अन्तरिक्षमा रहेको बताइएको छ।
स्पेसएक्सको उक्त योजनाको अमेजनको प्रतिस्पर्धी स्याटेलाइट कम्पनी ‘लियो’ लगायतले आलोचना गरेका छन्। उनीहरूले स्पेसएक्सले स्वीकृत सबै उपग्रह प्रक्षेपण गर्न नसक्ने र त्यसका लागि शताब्दीसम्म लाग्न सक्ने दाबी गरेका छन्।
तर एफसीसी अध्यक्ष कारले यस्तो आलोचनाको खण्डन गर्दै अमेजनले आफ्नै प्रक्षेपण र स्याटेलाइट नेटवर्क विस्तारमा ध्यान दिनुपर्ने बताएका छन्।
