स्वार्थको राजनीतिबाट बनेको गठजोडलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्छः महासचिव पोखरेल

दाङ, ३ कात्तिक । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलका घोराही इन्चार्ज सुवास विक, वाईसिएलका घोराहीका उपाध्यक्ष रामचन्द्र केसीसहित १०० जना युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । घोराहीमा नेकपा (एमाले) दाङ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेल लगायत नेताहरूले स्वागत गर्नुभयो ।

सो कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) मुलुकमा आर्थिक सामाजिक विकासका माध्यमबाट समाज बदल्न चाहन्छ भन्नुहुँदै त्यसका लागि पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने वताउनुभयो । उहाँले देशका भविष्य युवाहरू हुन् भन्ने कुरामा पार्टी स्पष्ट दृष्टिकोण रहेको बताउँदै युवाहरूको भविष्य एमालेमा रहेको छ भन्नुभयो ।

वर्तमान गठबन्धन १४ महिना सरकारमा रहँदा मुलुकका लागि नोक्शानदायी बनेको चर्चा गर्दै महासचिव पोखरेलले असुरक्षा र स्वार्थको राजनीतिबाट बनेको गठजोडलाई आगामी निर्वाचनमा पराजित गर्नेपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘सत्ता गठबन्धन नीतिगत अन्यौलमा छ । नीतिगत स्पष्टता र नेतृत्व समेत अगाडि सारेर एमाले निर्वाचनमा होमिएको छ । प्रदेशमा प्रदेश सरकार र केन्द्रमा बहुमतको सरकार बनाउने गरी निर्वाचनमा जुट्नुपर्र्छ ।’ कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्यले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै निर्वाचनमा जुट्न आग्रह गर्नुभएको थियो ।

नवप्रवेशी वाईसिएलका घोराही इन्चार्ज सुवास विकले आफूहरूको एमाले प्रवेश केवल पार्टी प्रवेशमात्र नभएर प्रतिक्रियावादी शक्ति र राष्ट्रवादी शक्तिबीचको लडाईंमा राष्ट्रवादी शक्तिको पक्षमा लड्न एमालेमा प्रवेश गरेको वताउनुभयोे । महासचिव पोखरेलले बुधबार साँझ घोराहीको सौडियारमा रात्रिकालीन कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको थियो ।

यसैबीच दाङको बंगलाचुली वडा नं। ४ बाट मुलुकको विकास र समृद्धि नेकपा (एमाले) ले मात्र गर्न सक्छ भन्दै माओवादी केन्द्र परित्याग गरी दुर्गशमान सिं,चुमा घर्ती,गायत्री घर्ती, मधु पुन, पदम घर्ती र नेपाली काँग्रेसका भुवन सिं पुन पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई नेकपा ९एमाले० का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज जीवन गौतम लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।