दाङ २ को चुनावी गणित

‘हेभिवेट’ शंकर पोखरेललाई दाङ २ मा चुनाव जित्न गणित पनि सहज

काठमाडौं, ५ कात्तिक । आगामी निर्वाचनका लागि दलहरूले चुनावी प्रचारप्रसार अभियानलाई तिव्र पारेका छन्। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार गरिरहेका छन्। क्रियाशील राजनीतिक दलका प्रतिनिधि देखि स्वतन्त्र उम्मेदवारले निर्वाचनमा उम्मेदवारी दर्ता गरिसकेपछि अहिले उम्मेदवारहरू मतदाताका घरदैलोमा पुगेर मत माग्न सुरु गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिनु भएको छ। नेता पोखरेलले पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता रेखा शर्मा प्रतिस्पर्धामा हुनुहुन्छ। २०७४ सालको चुनाव जितेका माओवादी नेता कृष्णबहादुर महरा चुनाव नलड्ने भएपछि ओवादीबाट यस क्षेत्रमा शर्माले अवसर पाउनु भएको हो । एमाले–माओवादी गठबन्धनबाट पोखरेल र महरा दुवैले गत चुनावमा दाङ २ मा दाबी गर्नुभएको थियो ।

तर, पछि माओवादी केन्द्रले अडान नछाडेपछि पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा पठाइएको थियो। यो निर्वाचनमा भने महरा आफै मैदान खाली गर्दा एमाले महासचिव पोखरेललाई सहज हुने चर्चा गरिएको छ। २०५१ सालमा दाङ– २ बाट निर्वाचन जितेर पहिलो पटक प्रतिनिधिसभाका सदस्य भएका पोखरेल ०६४ सालको संविधानसभा निर्वाचनमा भने समानुपातिकबाट सांसद बन्नुभएको थियो । ०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा दाङ ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित हुनुभएको थियो । उहाँ २०७४ सालको निर्वाचनमा दाङ १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

यसअघि समानुपातिक सांसद भएर मन्त्री समेत भइसक्नु भएकी माओवादी नेता शर्मा पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दै हुनुहुन्छ। २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभामा समानुपातिक सांसद बन्नुभएकी उहाँ सामान्य प्रशासन मन्त्री बन्नुभएको थियो । एमालेका ‘हेभिवेट’ नेता पोखरेल र माओवादीको महिला नेता शर्माबिचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। महराले मैदान छोडेसँगै पोखरेललाई चुनाव जित्न सहज हुने विश्लेषण एकातिर भइरहेको छ भने दाङमा कांग्रेसको साथका कारण शर्माको भावी जितलाई मावोवादीले सहज ठानेको छ ।

एमालेका ‘हेभिवेट’ नेता पोखरेल र माओवादीको महिला नेता शर्माबिचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। महराले मैदान छोडेसँगै पोखरेललाई चुनाव जित्न सहज हुने विश्लेषण एकातिर भइरहेको छ भने दाङमा कांग्रेसको साथका कारण शर्माको भावी जितलाई मावोवादीले सहज ठानेको छ

लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहनु भएका पोखरेलले दाङमा पछिल्लो समयमा आफ्नो प्रभाव बढाउँदै लगेकाले गठबन्धनबाट उम्मेदवार बन्नु भएकी शर्मालाई जित निकाल्न सहज भने छैन । प्रमुख प्रतिपक्षी दलको महासचिव तथा बौद्धिक नेताको चरित्र बनाउनु भएका नेता पोखरेलको जीतले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने भएकाले दाङ २ को प्रतिस्पर्धालाई सबैले चासोको रुपमा लिएका छन्।

लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहनु भएका पोखरेलले दाङमा पछिल्लो समयमा आफ्नो प्रभाव बढाउँदै लगेकाले गठबन्धनबाट उम्मेदवार बन्नु भएकी शर्मालाई जित निकाल्न सहज भने छैन । प्रमुख प्रतिपक्षी दलको महासचिव तथा बौद्धिक नेताको चरित्र बनाउनु भएका नेता पोखरेलको जीतले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने भएकाले दाङ २ को प्रतिस्पर्धालाई सबैले चासोको रुपमा लिएका छन्

यस्तो छ अंकगणित

एमाले महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र रहेको दाङ २ मा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिकासहित तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा समेटिएका छन्। गएको वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दाङका १० वटा पालिकामध्ये एमालेले दुई ठुला पालिका घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा जीत हासिल गरेको थियो।

स्थानीय चुनावमा एमाले उम्मेदवारलाई जिताएर पोखरेलले संसदीय चुनावका लागि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गरिसक्नु भएको छ । जसलाई धेरैले पोखरेलको संसदीय यात्राको ‘ब्याकअप’ का रूपमा समेत हेरेका छन्। स्थानीय तहको चुनावमा एमाले एक्लैले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरेर जीत हासिल गरेको थियो। घोराही उपमहानगरमा गठबन्धनको सहयोगमा माओवादीका हेमराज शर्मा डायमन्डलाई पाँच हजार मतान्तरले पराजित गर्दै एमाले नेता नरुलाल चौधरी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको थियो। स्थानीय चुनावमा प्राप्त मतको आधारमा घोराहीमा एमाले सत्ता गठबन्धनभन्दा पाँच हजार मतले अगाडि छ।

यस क्षेत्रको बंगलाचुली गाउँपालिकामा भने एमालले उम्मेदवारलाई दुई हजार ७१ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता तुलसीराम पुन सुवास विजयी हुनुभएको थियो। पुनले ५ हजार ७ सय मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भेषराज खत्रीले ३ हजार ६७८ मत ल्याउनु भएको थियो। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामध्ये १७ मा एमाले र १८, १९ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको थियो। वडा नम्बर १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

दाङ २ मा गत स्थानीय तहको चुनावमा प्राप्त मत परिणामलाई अध्ययन गर्दा एमाले उम्मेदवार पोखरेलको पक्षमा देखिन्छ। यस हिसाबले पोखरेललाई चुनाव जित्न सहज देखिन्छ। सँगै पाँच दलीय सत्ता गठबन्धन सम्पूर्ण मत माओवादी उम्मेदवार शर्मालाई गएमा पोखरेललाई साह्रो पर्न सक्ने देखिन्छ। तर दाङ कांग्रेसमा गत स्थानीय तहको निर्वाचनदेखिकै असन्तुष्टि कायम रहेकाले त्यसको फाइदा पोखरेललाई प्राप्त हुनसक्ने सम्भावना प्रबल छ।