सीको तेस्रो कार्यकाल सुरु, हु जिन्ताओबारे विभिन्न अड्कलबाजी

कामठाडौँ, ६ कात्तिक । सन् २०१८ मा दुई पटकसम्म मात्र राष्ट्रपति हुन पाउने नियम परिवर्तन गर्दै अनिश्चित कालसम्म देशको शीर्ष नेतृत्वमा रहन सक्ने बाटो खोल्नु भएका सी जिन्पिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिनु भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट शनिवार २०५ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचित गरेको हो । उहाँ राष्ट्रपति चुनिएसँगै अब पाँच वर्षका लागि उहाँ चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, देशको राष्ट्रपति र सैन्य सङ्गठनहरूका प्रमुखको जिम्मेवारीमा रहनु हुनेछ ।

उहाँ राष्ट्रपति चुनिएसँगै चिनिया कम्युनिष्ट पार्टीमा केही विवाद देखिएको छ । मुख्य गरेर राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको सन्दर्भ अहिले चर्चाको विषय बनेको छ । ७९ वर्षीय नेता हु जिन्ताओलाई अधिकारीहरूले उहाँ बसेको ठाउँमा पुगेर बाहिर निकालेका तस्बिर र भिडियो सार्वजनिक भएसँगै यो सन्दर्भले चर्चा पाएको हो ।

यद्यपि, त्यसको कारणबारे केही खुलाइएको छैन। सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहनु भएका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उहाँले राष्ट्रपति सीलाई केही भनेको भिडियो देखिन्छ । प्रतिक्रियामा राष्ट्रपति सीले भने टाउको हल्लाएर सहमति जनाएको जस्तो भिडियो विषयलाई लिएर निकै अड्कलबाजी भएका छन् । हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट कुम समातेर डोहोर्‍याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगेको तस्बिर र दृष्य अहिले पनि रहस्यमा छ । तर, अनुमानहरु धेरै छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन शनिबार सकिएसँगै चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय कमिटी सदस्यहरूको सूची सरकारी सञ्चारमाध्यम सिन्ह्वाले शनिबार नै सार्वजनिक गरेको छ। उक्त सूचीमा प्रधानमन्त्री ली खछ्याङको नाम भने छैन।

अधिवेशनको समापनसँगै सी चिनफिङले ऐतिहासिक तेस्रो कार्यकाल गर्नुभएको छ भने २० औं अधिवेशनले गरेका निर्णयबारे आज औपचारिक जानकारी दिइनेछ। तेस्रो कार्यकालका लागि चिनफिङले केन्द्रीय कमिटी, पोलिटब्युरो र पोलिटब्युरो स्थायी कमिटीमा व्यापक फेरबदल गर्नुभएको छ ।