कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनः बस्ने
काठमाडौँ, मंंसिर ८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सोमबार बसेको बैठकले प्रस्तावित कार्यसूचीमाथि छलफल गर्दै बैठक बुधबार पुनः बस्ने तय गरेको हो ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गर्नुभएको थियो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषय छलफलका लागि प्रस्ताव गरिएको छ ।
सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना, सुकुमवासी व्यवस्थापन र स्थानीय निर्वाचनबारे छलफल हुने
प्रस्तावित कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषय समेटिएको छ । त्यसैगरी भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनका विषयमा पनि छलफल हुनेछ ।
बैठकमा सरकारका पछिल्ला गतिविधि तथा आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिनुभयो ।
यसका अतिरिक्त समसामयिक राजनीतिक परिस्थिति र विविध विषयमा समेत छलफल हुने जनाइएको छ । सोमबारको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्नुभएको थियो ।
