महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत
दशौँ राष्ट्रिय खेलकुद
काठमाडौँ, मङ्सिर ८ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा सोमबार भएको पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ६५ रन बनाउँदै सबै विकेट गुमाएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् ।
कोशीलाई कम रनमा समेट्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले दुई ओभर मेडन राख्दै छ रन मात्र खर्चिइन् । मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिए ।
६६ रनको लक्ष्य आर्मीले १३ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । उनले २८ बलमा तीन चौका प्रहार गरिन् । रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।
कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेकी आर्मीकी यमुना थारु खेलको प्लेयर अफ दी म्याच घोषित भइन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस तथा सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेटका खेल सञ्चालन भइरहेका छन् ।
