हावाहुरीले त्रिपाल उडाएपछि बाढीपीडित खुला आकाशमुनि
आकाशमुनिको बास
काठमाडौँ, मंसिर ८ । बूढीगण्डकी नदीमा आएको बाढीबाट विस्थापित भएर डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका गोरखाको चुमनुब्री गाउँपालिका ३ जगतका पाँच परिवार हावाहुरीका कारण थप समस्यामा परेका छन् । सोमबार बिहान चलेको हावाहुरीले उनीहरू बस्दै आएका त्रिपाल उडाएपछि बाढीपीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
गत असोज २५ गते बूढीगण्डकीमा आएको बाढीले घर बगाएपछि उनीहरू जगत गाउँको एकान्त स्थानमा पहराको फेदमा त्रिपाल टाँगेर बस्दै आएका थिए । हावाहुरीले त्रिपालसँगै राहतमा पाएका ओढ्ने, ओछ्याउने र लगाउने कपडासमेत उडाएपछि उनीहरूको अवस्था थप कष्टकर बनेको पीडित लालमाया गुरुङले बताउनुभयो ।
डेढ महिनादेखि अस्थायी आवासमा बस्दै आएका पाँच परिवारको बासस्थानमा क्षति, राहतका लत्ताकपडासमेत हावाले उडायो
सोमबार बिहान करिब ३ बजेतिर ठूलो आवाजसहित हावाहुरी चलेपछि सुरुमा बाढी आएको आशङ्काले बाहिर निस्किएर हेरेको उहाँले सुनाउनुभयो । केही समयपछि पुनः त्रिपालभित्र सुते पनि एकछिनमै हावाहुरीले पाल उडाएर आफूहरूलाई खुला आकाशमुनि पुर्याएको उहाँको भनाइ छ ।
‘हाम्रो चिल्लीबिल्ली भयो । बाढीले घर लग्यो, अब बस्दै आएको त्रिपाल पनि हावाले उडायो,’ उहाँले दुःख व्यक्त गर्नुभयो । भाँडाकुँडा र खाद्यान्न भने बाढीबाट क्षति नभएको स्थानीयको घरमा राखिएकाले सुरक्षित रहेको उहाँले बताउनुभयो । स्थानीय विशाल घलेका अनुसार हावाहुरीले जगतका तीन र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएका त्रिपाल उडाएको छ । यसबाट बाढीपीडित परिवारलाई पुनः अस्थायी आवासको व्यवस्था गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
यसैबीच हावाहुरीले धार्चे गाउँपालिका ५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको भवनको छानासमेत उडाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धार्चे ५ का दुई बस्ती, धार्चे ३ को उहिया तथा चुमनुब्री ३ को जगत र सल्लेरीमा निजी आवास र विद्यालय भवनमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आकाश कँडेलले जिल्लाका विभिन्न स्थानमा हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । हावाहुरीका कारण घर तथा विद्यालयका छाना उड्नुका साथै अस्थायी आवासमा बसिरहेका बाढीपीडितसमेत प्रभावित भएका छन् ।
