कालीगण्डकी गाउँपालिकाले सयपत्री बेचेरै गरे आठ लाख आम्दानी

स्याङ्जा, १८ कात्तिक । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तिहारको अवधिमा सयपत्रीको फूलमाला बिक्री गरेर आठ लाख रूपैंया भन्दा बढीकाे आम्दानी गरेकाे छ ।

गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला तिहारको अवधिमा बिक्री गरेर गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् ।

तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो ।

“किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे”, उहाँले भन्नुभयो, “तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला रु ८० देखि रु एक सयका दरले बिक्री भयो ।” यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो ।

स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भएको पौडेलले बताउनुभयो । तिहारको अवधिमा सयपत्री फूलको माग विगतका वर्षका तुलनामा यसपाली बढेको थियो । व्यापारीले यहीँ आएर फूल खरिद गरेर लगेका थिए ।

“फूल पहिलो चरणको बिक्री भएर सकियो”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा अहिले फेरि फूल उत्पादन भइसकेको छ, यो फूल विवाह, व्रतबन्धलगायतमा बिक्री गर्छौँ । साउनमा लगाइएको बोटबाट चैतसम्म उत्पादन लिन सकिन्छ ।”

फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिई आर्थिकलाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैले फूलखेती गरेको थियो । यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो ।

गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरेको थियो । गाउँपालिकाले व्यावसायिकरूपमा फूलखेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिएको थियो ।

खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अनुदान उपलब्ध गराएको थियो । गत वर्ष गाउँपालिकाले परीक्षणका रूपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यस वर्षबाट कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिकाले यस वर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट चार सय वटासम्म फूलका थुङ्गा उत्पादन हुन्छन् । यहाँ व्यावसायिक फूलखेती थालेका किसानले तिहारको अवधिमा मात्रै न्यूनतम रु ३० हजारदेखि अधिकृतम रु ७०–८० हजारसम्म आम्दानी गरेका छन् । फूल उत्पादन हुने क्रम आगामी चैतसम्म हुने भएकाले बिक्री गरी थप आम्दानी लिन सकिन्छ ।