ट्रम्प नेतृत्वको ‘केनेडी सेन्टर’ गम्भीर आर्थिक संकटमा, मुख्य भवन तत्काल बन्द गर्न सिफारिस

 

वासिङ्टन डीसी । अमेरिकी राजधानी वासिङ्टन डीसीस्थित प्रसिद्ध कला केन्द्र ‘जोन एफ. केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्स’ गम्भीर आर्थिक संकटमा परेको छ। खर्च धान्नै नसक्ने अवस्था बनेपछि संस्थाको सञ्चालक समितिले सेन्टरको मुख्य भवन तत्कालका लागि बन्द गर्न सिफारिस गरेको छ।

अमेरिकी अखबार द वासिङ्टन पोस्ट मा प्रकाशित प्रतिवेदनअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा रहेको सञ्चालक समितिले केही साताभित्र कर्मचारीहरूलाई तलब खुवाउन र भवनको मर्मतसम्भार गर्नेसमेत रकम अभाव हुने चेतावनी दिएको छ। मंगलबार बस्ने विशेष बैठकका लागि तयार पारिएको ५७ पृष्ठ लामो प्रतिवेदनमा सेन्टरको जीर्ण भवन र गम्भीर वित्तीय पतनलाई मुख्य एजेन्डा बनाइएको छ।

नामै बदलेर संकट टार्ने प्रयास

आर्थिक पतन रोक्न सञ्चालक समितिले भवनको अग्रभागमा राष्ट्रपति ट्रम्पको नाम राख्ने प्रस्ताव अघि सारेको छ। ट्रम्पले आफ्नो संलग्नतालाई औपचारिक रूपमा स्वीकार गरिए सहयोग गर्ने इच्छा व्यक्त गरेको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो वर्ष ट्रम्पले नेतृत्व सम्हालेयता सेन्टरमा आर्थिक संकट, नेतृत्व फेरबदल र कानुनी विवादहरू चुलिँदै गएका छन्। गत डिसेम्बरमा सञ्चालक समितिले संस्थाको नाम बदलेर ‘ट्रम्प-केनेडी सेन्टर’ राख्ने निर्णय गरे पनि अदालतले उक्त कदममाथि रोक लगाएको थियो।

आम्दानीमा व्यापक गिरावट

ट्रम्पको नियन्त्रणपछि धेरैजसो नामी कलाकारहरूले आफ्ना पूर्वघोषित कार्यक्रमहरू रद्द गरेका छन्। यसका कारण टिकट बिक्री कोभिड-१९ महामारीपछिकै सबैभन्दा तल्लो विन्दुमा झरेको छ।

चालु आर्थिक वर्षमा २२० मिलियन डलर आम्दानी हुने प्रक्षेपण गरिएकोमा हाल १२४ मिलियन डलर मात्र उठ्ने अनुमान छ। खर्चमा व्यापक कटौती गर्दा पनि सेन्टरलाई करिब २३ मिलियन डलर घाटा हुने देखिएको छ।

यसैबिच, सेन्टरका प्रवक्ताले भने वर्तमान संकटको दोष अघिल्लो व्यवस्थापनको वित्तीय कुप्रबन्धनलाई दिएका छन्। ट्रम्पको नाम जोडिएकै कारण थप नयाँ दाताहरू आकर्षित भइरहेको दाबीसमेत सेन्टरले गरेको छ।

सन् १९६३ मा हत्या गरिएका पूर्वअमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको सम्मानमा स्थापना गरिएको यो ऐतिहासिक कला केन्द्र ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेसँगै उनको नेतृत्वमा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *