दाङमा पनि अन्य पार्टीका उम्मेदवारै एमालेमा प्रवेश

काठमाडौं, २४ कार्तिक । मतदानको दिन नजिकिँदै गर्दा आफू आवद्ध पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्ने कार्यकर्ताहरू पनि धमाधम बढिरहेको छ ।

यसै क्रममा दाङमा मौलिक जरोकिलो पार्टीका पनि उम्मेदवारै समेत एमाले प्रवेश गर्नुभएको छ । उक्त पार्टीबाट दाङ क्षेत्र नं. २ बाट उठ्नुभएका उम्मेदवार रामचन्द्र खड्का पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएको हो ।

उहाँले आज एक वक्तव्य प्रकाशित गरी आफू आवद्ध जरोकिलो पार्टीको साधारण सदस्यता समेत परित्याग गरी आजैका मितिदेखि एमाले प्रवेश गरेको घोषणा गर्नुभएको हो ।

उम्मेदवार खड्काले पार्टी परित्याग गर्दै जारी गर्नुभएको वक्तव्यमा भन्नुभएको छ, ‘मुलुकको विकास र समृद्धिको नेतृत्व नेकपा (एमाले) ले मात्र गर्न सक्दछ भन्ने निष्कर्ष सहित मैले आजको मितिदेखि मौलिक जरोकिलो पार्टीको साधारण सदस्य समेत परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेको घोषणा गर्दछु ।’

उहाँले गत असोज २३ गते निर्वाचत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिनुभएको उम्मेदवारी पनि फिर्ता लिनुभएको छ । नेता खड्काले सो क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिई सोही क्षेत्रका उम्मेदवार एवं नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई समर्थन गर्ने पनि घोषणा गर्नुभएको छ ।

साथै उहाँले जरोकिलो पार्टीमा रहेका नेता, कार्यकर्ताहरुलाई पनि एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरी शंकर पोखरेलाई जिताउन अपिल गर्नुभएको छ ।

यस अघि जनता समाजवादी पार्टी (जसपा) नेपाल कास्की २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार तथा कास्कीका वरिष्ठ उपाध्यक्षसमेत रहेका धनबहादुर परियार पनि आफू आवद्ध पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।

परियारले पार्टी परित्यागबारे जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ, ‘पार्टीको छाता चुनाव चिन्हमार्फत प्रत्यक्षतर्फको मेरो उम्मेदवारी आजको मितिबाट निस्कृय बनाई म र मेरा शुभेच्छुक शुभचिन्तकको समर्थन एमालेलाई रहेको उदघोष गर्दछु ।’

‘एमाले कास्की क्षेत्र नम्बर २ (ख)का प्रत्यक्षतर्फका उम्मेदवार मिना गुरुङसहित सूर्य ध्वजाबाहक सबै उम्मेदवारलाई विजयी बनाएर गण्डकीमा एमालेको नेतृत्वमा सरकार बनाउनु पर्छ’ परियारले भन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *