भाइरल डान्सर कविता नेपालीले ‘केपी बा’ माथि बनाए नयाँ टिकटक

काठमाडौं, २९ कार्तिक । हाल विश्वभरि नै टिकटकमा भाइरल भइरहेका चर्चित डान्सर कविता नेपालीले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको र्याप गीतमा डान्स गरी दुइटा नयाँ टिकटक पोष्ट गर्नुभएको छ ।

हालै मात्र सार्वजनिक भएको नयाँ ¥याप गीत ‘केपी बा’ मा कविता नेपालीले नाच्नुभएको हो । उहाँले आफ्नो त्यो नाच पनि टिकटकमा पोष्ट गर्नुभएको छ । उहाँको यो नाचलाई पनि प्रशस्तै ‘लाइक’ आइरहेका छन् ।

हालै पोष्ट गरिएका दुई टिकटक मध्ये एउटा डान्स खुल्ला ठाउँमा गरिएको छ भने अर्को डान्स पहिलेकै जस्तो ट्रेडमिलमा गरिएको छ ।

कविता नेपालीले गएको हप्ता मात्रै ट्रेडमिलमा नाचेर पोष्ट गर्नुभएको भिडियो अहिलेसम्म विश्वभरि दुई करोडभन्दा बढी पटक हेरिइसकेको छ । साथै सोही गीत बजाएर ट्रेड मिलमा नाचेर बनाइएका अरु अनगिन्ती भर्जनहरू पनि अहिले टिकटकभरि छाइरहेका छन् ।

‘बातों ने तेरी जादू किया…’ बोलको एउटा हिन्दी फिल्मी गीतमा कविता नेपालीले आकर्षक नाच प्रस्तुत गर्नुभएको हो । ट्रेडमिलमा बसेर नाचिरहेको सोही भिडियोको कपी गरी अहिले बाँस, लट्ठी, मेच, टेबुल आदि जस्ता सामग्रीलाई समेत ट्रेडमिल जस्तो बनाएर नाच्दै टिकटक बनाउनेहरूको बाढी नै आइरहेको छ ।

यस्तो ट्रेण्ड अहिले नेपालको गाउँगाउँमा चलिरहेको छ भने विदेशमा पनि भारत, श्रीलंका, मलेशिया, अमेरिका, अष्ट्रेलिया आदि जस्ता देशहरूमा कविता नेपालीको कपी गर्ने लहर चलिरहेको छ । धेरैजसो म्यादी प्रहरीले पनि अहिले यही गीतमा नाचेर टिकटक बनाएका छन् ।

नेपालमा भएको बुगीबुगी नाच प्रतियोगिता समेत जित्नुभएका कविता नेपालीको यही एउटा डान्सको टिकटकले विश्वभरि नै नेपाललाई चिनाउन सहयोग गरेको बताइन्छ ।

अध्यक्ष ओलीमाथि गाइएको नयाँ ¥याप गीत पनि युवाहरू माझ अत्यन्त लोकप्रिय हुँदै गएको छ । सो गीत सार्वजनिक भएकै दिन अध्यक्ष ओली काठमाडौंको एलओडी पबमा गई युवाहरूलाई भेट्नुभएको थियो ।

आफ्नो भिडियो विश्वभरि नै भाइरल भइसकेपछि कविता नेपालीले एमाले अध्यक्ष केपी ओलीमाथि गाइएको र्याप गीतमा नाचेर अर्को भिडियो बनाई टिकटक बनाउनुभएको हो ।

चुनावका क्रममा धेरैभन्दा धेरै युवा समुदाय माझ पुग्न प्रयास गरिरहनुभएका एमाले अध्यक्ष ओलीलाई कविता नेपालीको यो टिकटकले अझ सहयोग पुग्ने अपेक्षा गरिएको छ ।