राहदानी विभागको सर्भरमा समस्या, बायोमेट्रिकलगायत सेवा प्रभावित
काठमाडौँ, १५ असोज । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भरमा समस्या आएपछि विभागका केही सेवा प्रभावित भएका छन् । कर्मचारीका अनुसार इन्टरनेटमा समस्या देखिएपछि सर्भर सञ्चालनमा समेत असर परेको हो ।
विभागका एक उच्च अधिकारीका अनुसार इन्टरनेटमा समस्या देखिएपछि सेवा प्रदायक कम्पनी सुबिसुका प्राविधिक कर्मचारी समस्या समाधानका लागि विभाग पुगेका छन् ।
इन्टरनेट सेवा प्रभावित हुँदा बायोमेट्रिकलगायत अनलाइन प्रणालीमा आधारित काम रोकिएको छ । यद्यपि अफलाइनबाट गर्न सकिने अन्य काम भने नियमित रूपमा भइरहेको ती अधिकारीले जानकारी दिनुभयो । विभागले समस्या समाधानका लागि प्राविधिक टोली काम गरिरहेको जनाइएको छ ।
