निर्वाचन एक दिन मात्र बाँकी

बुथ कब्जा भए २० मिनेट भित्र सेना पुगिसक्ने

काठमाडौं, ३ मंसिर । मुलुकमा नयाँ संविधान लागू भइसकेपछिको दोस्रो आमनिर्वाचनका लागि भोलि मतदान हुँदैछ । अर्थात मतदान हुन अब एक दिन मात्रै बाँकी छ ।

देशभरि एकैदिन मतदान गर्ने कार्यक्रम सहित निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको छ भने मतदानका दिन हुनसक्ने सम्भावित झैंझगडा, हुलदंगा, बुथ कब्जा आदि जस्ता कार्यलाई रोक्न सुरक्षा निकायले पनि पूर्ण तयारी गरिसकेको बताइएको छ ।

यो निर्वाचन विथोल्ने घोषणासहित केही बहिष्कारवादी राजनीतिक दलहरूले आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको अवस्थालाई समेत मध्यनजर राख्दै सुरक्षा निकायले आफ्नो तयारी गरेको बताइएको छ ।

मतदानस्थलमा हुन सक्ने बुथ कब्जा जस्ता कार्य भने यी बहिष्कारवादी शक्तिभन्दा पनि चुनावमा भाग लिइरहेकै शक्तिहरूबाट हुने भएकोले सुरक्षा निकायको ध्यान त्यतातिर बढी गएको पनि बताइएको छ ।

कुनै पनि ठाउँमा यदि बुथ कब्जा जस्ता कार्य भयो भने त्यहाँ सिधै सेनाले हस्तक्षेप गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्ता कार्यहरू जुनसुकै ठाउँमा भए पनि त्यहाँ २० मिनेटभित्र सेना पुगिसक्ने गरी व्यवस्था गरिएको छ । त्यसको लागि विभिन्न ठाउँहरूमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

नेपाली सेना समेतको यो मजबुत तयारीबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले भन्नुभएको छ, ‘बुथ कब्जा गरेर चुनाव जित्छु भनेर त अब कसैले नसोचे पनि हुन्छ ।’

तीन दिनमा नतिजा

यसैबीच निर्वाचन आयोगले भोलि हुने मतदानको तीन दिन पछि नै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले जुन क्षेत्रमा मतदान हुने हो त्यहीं बसेर मतगणना पनि गरिने भएकोले परिणाम चाँडै सार्वजनिक हुने विश्वास गरिएको छ ।

पहिले पहिले सम्पूर्ण जिल्लाकै मतगणना एक ठाउँमा राखेर गरिने भएकोले त्यसको लागि मतपेटिका बोकेर ल्याइरहनुपर्ने हुन्थ्यो । मतपेटिका ल्याउनै एक दिन जस्तो लाग्ने भएकोले गणना पनि ढिलो हुने गर्दथ्यो ।

मतगणना जति ढिलो भयो त्यति नै विवाद पनि आउने भएकोले मतदान सकिए लगत्तै गणना पनि जारी गरिहाल्ने नीति निर्वाचन आयोगले लिएको छ ।

प्रत्यक्षतर्फको परिणाम तीन दिनमा सकिए पनि समानुपातिकतर्फको परिणाम आउन भने एक हप्ता जति लाग्ने पनि आयोगले बताएको छ । आयोगले मतदान मात्र होइन परिणाम सार्वजनिक गर्ने तयारी पनि उतिकै चुस्त गतिमा गरेको दावी गरेको छ ।