मतगणनाको प्रारम्भिक तस्बिर

नयाँ दलहरूको उदय, तर ठूला दलहरूको वर्चश्व कायमै

काठमाडौं, ५ मंसिर । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले केही फरक सन्देश दिएको छ । हिजो मतदान सकिए लगत्तै केही अनलाइन सञ्चार माध्यमहरूले गरेको एक्जिट पोलले नतिजा अप्रत्याशित हुने अनुमान सार्वजनिक गरेको थियो ।

अहिले सार्वजनिक भइरहेका प्रारम्भिक नतिजा केही फरक खालको देखिए पनि यो देशको राजनीतिक धारलाई नै प्रभावित गर्न सक्ने अवस्थाको हुने सम्भावना भने देखिइहालेको छैन । सम्भवतः भोलिसम्मको गणनाले केही स्पष्ट तस्बिर बाहिर ल्याउन सक्ला । अहिलेसम्मको गणनामा पुरानै पार्टीहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नै अग्रस्थानमा देखिएको छ । एमालेले करिब एक दर्जन सिटमा अग्रता लिएको छ भने कांग्रेस ८ सिटमा अग्रस्थानमा रहेको छ ।

पुराना पार्टीहरू नेकपा माओवादी केन्द्र, जसपा, लोसपा र नेकपा एकीकृत समाजवादीले भने ठूलै धक्का व्यहोर्नुपर्ने सम्भावना प्रारम्भिक गणनाले देखिएको छ । यसमा पनि नेपाली कांग्रेससँग मिलेर गठबन्धन बनाएका माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अवस्था अहिलेसम्म भुईंबाट उठ्न सकेको देखिँदैन । यदि यी पार्टीका उम्मेदवारहरू हारे भने त्यसको प्रत्यक्ष असर नेपाली कांग्रेसलाई पर्न जाने निश्चित छ । यी नै पार्टीहरूसँग सिट तालमेल गर्नुपरेका कारण कांग्रेसले कम मात्र सिटमा उम्मेदवार उठाएका थिए ।

पुराना पार्टीहरू नेकपा माओवादी केन्द्र, जसपा, लोसपा र नेकपा एकीकृत समाजवादीले भने ठूलै धक्का व्यहोर्नुपर्ने सम्भावना प्रारम्भिक गणनाले देखिएको छ । यसमा पनि नेपाली कांग्रेससँग मिलेर गठबन्धन बनाएका माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अवस्था अहिलेसम्म भुईंबाट उठ्न सकेको देखिँदैन ।

यो निर्वाचनमा रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । देशैभरि यो पार्टीको स्थान एमाले र कांग्रेसपछि तेस्रोमा आएको छ । अहिले ६ क्षेत्रमा यसले अग्रता हासिल गरेको छ । अग्रता नभएका क्षेत्रमा पनि ठूला दलको पछि पछि रास्वपा नै रहेको देखिन्छ । तथापि यसले अन्तिमसम्मै पछि पछि लागेर पछ्याउने मात्रै गर्छ वा प्रत्यक्ष सिट पनि जित्छ भन्ने कुरा भने भोलिसम्मको गणनाबाट थाहा हुन सकिएला ।

रास्वपाले अहिले ल्याइरहेको मतको ट्रेण्ड हेर्दा यसले समानुपातिकमा राम्रो सिट जित्ने संकेत देखाइसकेको छ । केही गरी सदनमा रास्वपाको उल्लेखनीय उपस्थिति देखियो भने यसले आफै सरकार बनाउन नसके पनि सरकार ढाल्ने र ठड्याउने खेलमा भने यसको निर्णायक भूमिका हुन जाने सम्भावना छ । चितवनको प्रारम्भिक गणनामा स्वयम् रवि लामिछाने आफै नै अन्यका तुलनामा निकै पछाडि परेको देखिएको छ ।

त्यस्तै अहिलेसम्मको मतगणनाले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रै ‘इन्ट्री’ गरेको देखिन्छ । काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसका नेता प्रकाशमान सिंहलाई समेत राप्रपाका नयाँ नेता रवीन्द्र मिश्रले चुनौति दिइरहेको छ ।

त्यस्तै तराईमा सीके राउतको जनमत पार्टीले अन्य मधेसवादी पार्टीहरूलाई पाखा लगाउने सम्भावना देखिएको छ । मधेस आन्दोलनका अगुवा उपेन्द्र यादललाई समेत पछि पार्दै जनमत पार्टीले तराईमा आफ्नो झण्डा गाड्न थालेको छ ।

अहिलेसम्मको ट्रेण्डिङले एमालेलाई कुनै समस्या परेको देखिएको छैन । अहिले जति पनि ठाउँमा एमालेले अग्रता लिएको हो त्यो सबै एमालेको आफ्नै पकेट क्षेत्र हो । एमालेको क्षेत्रमा राप्रपा र रास्वपाले खासै असर गरेको देखिएको छैन ।