बालबालिकाको सिर्जनशीलताबाट जलवायु संरक्षणको नयाँ बाटो देखियो : कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ, १३ मङ्सिरः काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणका लागि बालबालिकासँगै काम गर्न महानगरपालिका इच्छुक रहेको बताउनुभएको छ । बालबालिकाले भिडियोमार्फत प्रस्तुत गरेका सिर्जनात्मक विचार र वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोधको प्रशंसा गर्दै उहाँले नवपुस्ताको दृष्टिकोणलाई महानगरले आफ्ना कार्यक्रम र अभ्यासमा समेट्ने बताउनुभयो ।

काठमाडौँ जलवायु कार्य सप्ताहअन्तर्गत आयोजित ‘जलवायुका लागि बालबालिका’ भिडियो च्यालेञ्जका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले बालबालिकाले आफू मात्र नभई अघिल्लो पुस्तालाई समेत वातावरण संरक्षणका लागि गर्न सकिने कामबारे जीवनोपयोगी सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरण जोगाउन बालबालिकामा गहिरो दृष्टि र दायित्व देखियो । बालबालिकाले आफू र आफूभन्दा अघिल्ला पुस्तालाई आफैँले गर्न सकिने प्रयासका बारेमा जीवनोपयोगी सन्देश दिनुभएको छ । यी सन्देशलाई हामीले ग्रहण गरेका छौँ ।”

जलवायुका लागि बालबालिका भिडियो च्यालेञ्जका ११ विद्यार्थी जलवायु युवा सद्भावना दूत घोषित, नवपुस्तासँगै काम गर्न महानगर इच्छुक

उहाँले जलवायु परिवर्तनको असर घटाउने अभियानमा बालबालिकालाई सहभागी मात्र नगराई उनीहरूका विचार, सिर्जना र सुझावलाई कार्यान्वयनसँग जोड्ने आवश्यकता औँल्याउनुभयो । बालबालिकाको सिर्जनशीलता र अनुभवबाट सिक्दै उनीहरूसँग सहकार्य गरेर जलवायु संरक्षणका कार्यक्रम अघि बढाउने महानगरको सोच रहेको उहाँको भनाइ थियो ।

प्रतियोगितामा उत्सना कटुवाल प्रथम, शिवानी श्रेष्ठ द्वितीय र रिसान पौडेल तृतीय हुनुभएको छ । विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा ८ मा अध्ययनरत कटुवालले ५० हजार रुपैयाँ, विभूति विद्या मन्दिरकी कक्षा ८ की श्रेष्ठले ३० हजार रुपैयाँ र सगरमाथा कलेजका कक्षा १२ का पौडेलले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, रोजबर्ड स्कुलका अनुभव बास्तोला, एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी सेकेन्डरी स्कुलकी कृपा गौतम, रिभेरा इन्टरनेसनल कलेजका आर्सिन सापकोटा र अभिरा काफ्ले, रोजबर्ड स्कुलकी रौसा बज्राचार्य, एभरेष्ट इनोभेटिभ स्कुलकी नुजला श्रेष्ठ, पशुपति मित्र सेकेन्डरी स्कुलका जोए शर्मा र अर्बना स्कुल अफ साइन्सकी इप्सिता यादवले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरू सातै जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगिताका उत्कृष्ट १० भिडियोमा सहभागी ११ जना विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाको जलवायु युवा सद्भावना दूत घोषणा गरिएको छ । भिडियो निर्माणमा एक्लै वा तीन जनासम्मको समूहमा सहभागी हुन पाउने व्यवस्था रहेकाले उत्कृष्ट १० स्थानमा ११ विद्यार्थी समेटिएका हुन् । जलवायु कार्य सप्ताहको समापन समारोहमा उनीहरूका उत्कृष्ट १० भिडियो प्रदर्शनसमेत गरिएको थियो ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई डिजिटल प्रमाणपत्र उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा विद्यार्थीको उल्लेख्य सहभागिता देखिएको छ । महानगरपालिकाले कात्तिक २८ गते सार्वजनिक सूचना जारी गर्दै कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई आठ विधामा एक मिनेटसम्मका भिडियो पठाउन आह्वान गरेको थियो । मङ्सिर ४ गतेसम्म तोकिएको समय विद्यार्थीको सहभागिताको चाहना र मागका आधारमा चार दिन थप गरी मङ्सिर ८ गतेसम्म पुर्‍याइएको थियो । यस अवधिमा एक हजार ८२ जनाले गुगल फर्म भरेका थिए ।

निर्णायक मण्डलका संयोजक एवं शिक्षा विभाग प्रमुख नवराज ढकालका अनुसार प्राप्त आवेदनमध्ये ५८३ वटा भिडियो मात्र मूल्याङ्कनका लागि योग्य भएका थिए । ३४८ वटा भिडियोको लिङ्क निजी रूपमा राखिएको वा पहुँच नदिइएको र १५१ वटा भिडियो निर्धारित एक मिनेटभन्दा लामो भएकाले मूल्याङ्कनमा समावेश गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । मूल्याङ्कनयोग्य भिडियोको १०० पूर्णाङ्कका आधारमा नतिजा निर्धारण गरिएको थियो ।

प्रतियोगिताको मूल्याङ्कनका लागि शिक्षा विभाग प्रमुख ढकालको संयोजकत्वमा सात सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । समितिमा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राई, मिस नेपाल २०२३ एवं कन्टेन्ट क्रिएटर सृच्छा प्रधान, भिडियो तथा फोटो पत्रकार अनुप प्रधान, वातावरणविद् लक्ष्मण खड्का, समाजशास्त्री सरोज गिरी र शिक्षा विभागको परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदी सदस्य रहनुभएको थियो ।

जलवायु परिवर्तनका असरबारे बालबालिका तथा युवामा चेतना अभिवृद्धि गर्ने, उनीहरूको सिर्जनात्मक क्षमता उजागर गर्ने र वातावरण संरक्षण तथा जलवायु अनुकूलनका विषयमा नयाँ पुस्ताको दृष्टिकोण सार्वजनिक गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । भिडियोमार्फत विद्यार्थीले जलवायु परिवर्तनका चुनौती पहिचान गर्ने, आफ्ना विचार अभिव्यक्त गर्ने र समाधानका उपाय सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्ने अवसर पाएका छन् ।

एक हजारभन्दा बढी विद्यार्थीको सहभागिता, सयौँ मूल्याङ्कनयोग्य सिर्जना र उत्कृष्ट भिडियोको सार्वजनिक प्रदर्शनले जलवायु संरक्षणप्रति बालबालिकाको चासो र सक्रियता उजागर गरेको छ । प्रतियोगितामार्फत महानगरपालिकाले बालबालिकालाई वातावरण संरक्षणका सन्देशका संवाहकका रूपमा मात्र नभई जलवायु नीति, योजना र कार्यान्वयनमा योगदान दिन सक्ने सक्रिय साझेदारका रूपमा अघि बढाउने सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *