ट्राफिक प्रहरीलाई नागरिकसँग सभ्य र मैत्रीपूर्ण व्यवहार गर्न प्रमुख काफ्लेको निर्देशन
काठमाडौं, १३ मङ्सिर । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा खटिने ट्राफिक प्रहरीलाई सवारी चालक तथा नागरिकसँग सभ्य, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्न निर्देशन दिनुभएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रममा उहाँले ट्राफिक प्रहरीको बोली, भाषा र व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
सवारी आवागमन सहज बनाउनु, सडकमा नागरिकलाई आवश्यक सहयोग गर्नु र सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउनु ट्राफिक प्रहरीको प्रमुख दायित्व रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी तनहुँ जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा सरुवा हुनुभएको अवसरमा बिदाइ गरिएको थियो ।
कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका विभिन्न वृत्तका प्रमुख तथा ट्राफिक प्रहरी अधिकारीहरूको सहभागिता रहेको थियो ।
