इण्डोनेशियाको जाभा टापुमा भूकम्प, छयालिस जनाको मृत्यु

एजेन्सी, ५ मंसिर । इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् ।

भूकम्पले दर्जनौं भवन भत्काएको छ भने प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षा अधिकारीहरूले सुरक्षाका निम्ति सडकमा पठाएका छन् ।

भूकम्पमा परी गम्भीर घाइते भएका ४६ जनाको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सात सय जना घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् ।

सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेर इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका छन् ।

क्षति विवरण सङ्कलन गरिरहेकाले भूकम्पबाट कति हताहती र क्षति भएकाे हाे पूर्ण विवरण प्राप्त भएको छैन । जकार्तालगायत स्थानमा भूकम्पको धक्का महसुस गरिएका छन् ।

भूकम्पको धक्का निकै शाक्तिशाली थियो र पनि उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी विदी प्रिमधानीले बताइन् ।