उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर समूह?
काठमाडौं । विश्वकै गरिब र सबैभन्दा गोप्य मुलुकमध्ये एक उत्तर कोरिया साइबर आक्रमण र क्रिप्टोकरेन्सी चोरीमा भने शक्तिशाली बन्दै गएको छ। बाहिरी विश्वसँग अधिकांश नागरिकको पहुँच सीमित रहेको तथा इन्टरनेटको सट्टा कडा निगरानीमा रहेको सरकारी इन्ट्रानेट प्रयोग गर्ने देशले कसरी यति ठूलो साइबर शक्ति निर्माण गर्यो भन्ने विषय अहिले विश्वका लागि चासोको विषय बनेको छ।
अमेरिकी अधिकारीहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरूले गत महिना विश्वकै ठूलो क्रिप्टो एक्सचेन्जमध्ये एक बाइनान्सबाट करिब ६ अर्ब अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्। यससँगै उत्तर कोरियाले हालसम्म चोरी गरेको क्रिप्टोकरेन्सीको कुल मूल्य करिब १३ अर्ब डलर पुगेको अनुमान गरिएको छ। उत्तर कोरियाले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
विश्लेषकहरूका अनुसार साइबर चोरीबाट प्राप्त रकमले उत्तर कोरियाली नेता किम जोङ उनले अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई आर्थिक सहयोग पुर्याउँदै आएका छन्।
क्रिप्टो ट्रेसिङ कम्पनी टीआरएम ल्याब्सका वरिष्ठ अनुसन्धानकर्ता निक कार्लसनका अनुसार राज्यको साइबर इकाइलाई प्रत्यक्ष रूपमा आपराधिक गतिविधि र चोरीमा प्रयोग गर्ने मामिलामा उत्तर कोरिया अन्य देशभन्दा निकै अगाडि छ।
विद्यालयबाटै छनोट गरिन्छन् प्रतिभाशाली विद्यार्थी
उत्तर कोरियाले साइबर शक्ति निर्माण गर्ने आधार सन् १९८० को दशकदेखि तयार गर्न थालेको मानिन्छ। तत्कालीन नेता किम इल सङले राजधानी प्योङयाङमा प्रतिभाशाली विद्यार्थीका लागि विशेष विद्यालय स्थापना गरेका थिए। त्यहाँ विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित तथा विदेशी भाषा पढाइन्थ्यो।
कडा छनोट प्रक्रियाबाट विद्यार्थी छनोट गरिन्थ्यो। कम्प्युटर विज्ञानमा उत्कृष्ट प्रदर्शन गर्ने करिब १०० विद्यार्थीलाई प्रत्येक वर्ष सैन्य विश्वविद्यालयमा थप प्रशिक्षणका लागि पठाइन्थ्यो। त्यसमध्ये उत्कृष्ट विद्यार्थीलाई चीन र रुस पठाएर उन्नत प्रोग्रामिङ तथा ह्याकिङसम्बन्धी तालिम दिइन्थ्यो।
कतिपय विद्यार्थीलाई पश्चिमी मुलुकमा समेत अध्ययन वा आदानप्रदान कार्यक्रमका लागि पठाइएको विवरण छ। यस क्रममा उनीहरूले विश्वका ठूला कम्पनीले प्रयोग गर्ने सफ्टवेयर प्रणाली, वित्तीय प्रणाली तथा इन्जिनियरिङसम्बन्धी ज्ञान हासिल गर्ने अवसर पाए।
कार्लसनले उत्तर कोरियाको यो प्रणालीलाई शीतयुद्धकालीन पूर्वी जर्मनीको राज्यप्रायोजित खेलकुद प्रणालीसँग तुलना गरेका छन्। उनका अनुसार जसरी पूर्वी जर्मनीले सानै उमेरमा खेलाडी पहिचान गरी ओलम्पिकका लागि तयार पार्थ्यो, उत्तर कोरियाले पनि गणित र कम्प्युटरमा प्रतिभाशाली बालबालिकालाई सानैदेखि पहिचान गरी साइबर युद्धका लागि तयार पार्यो।
सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई पछि सेनाको चर्चित ‘युनिट १२१’ मा भर्ती गरिन्थ्यो। यो इकाइले विदेशी बैंक, सरकारी निकाय तथा महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै साइबर आक्रमण गर्ने गरेको बताइन्छ।
उत्तर कोरियाको गरिब अवस्थाका बीच यस्ता अवसर निकै आकर्षक मानिन्थे। उत्कृष्ट ह्याकरलाई राजधानीमा बसोबासको सुविधा, राम्रो आवास तथा परिवारलाई समेत राजधानीमा ल्याउने अवसर दिइन्थ्यो।
किम जोङ उनले सन् २०११ मा सत्ता सम्हाल्दा यो साइबर संरचना ठूलो हदसम्म तयार भइसकेको थियो। इन्टरनेटको विकासलाई नजिकबाट देखेका किमले साइबर युद्धको क्षमतालाई आणविक हतियार र क्षेप्यास्त्रजत्तिकै महत्वपूर्ण मान्ने गरेको दक्षिण कोरियाली सुरक्षा निकायसम्बन्धी दस्तावेजमा उल्लेख छ।
सन् २०१९ सम्म उत्तर कोरियाको साइबर सेनामा १ हजार ८ सयदेखि ७ हजारसम्म ह्याकर रहेको विभिन्न अनुमान सार्वजनिक भएका थिए।
सोनीदेखि बाइनान्ससम्म
उत्तर कोरियाको बढ्दो साइबर क्षमताको पहिलो ठूलो संकेत सन् २०१४ मा देखिएको थियो। त्यस वर्ष ‘लाजरस ग्रुप’ नामले चिनिने ह्याकर समूहले अमेरिकी चलचित्र कम्पनी सोनी पिक्चर्समाथि ठूलो साइबर आक्रमण गरेको थियो।
आक्रमणमा कम्पनीका आन्तरिक प्रणाली ध्वस्त पारिएको, महत्वपूर्ण व्यक्तिगत तथा व्यावसायिक विवरण चोरी गरिएको र कर्मचारीलाई कम्प्युटर प्रणालीबाट बाहिर राखिएको थियो। त्यसपछि सार्वजनिक नभएका चलचित्र र उच्च अधिकारीका इमेलसमेत इन्टरनेटमा सार्वजनिक गरिएका थिए।
सोनीमाथिको आक्रमणको मुख्य कारण ‘द इन्टरभ्यु’ नामक चलचित्र रहेको बताइएको थियो। सेथ रोजेन र जेम्स फ्रान्को अभिनीत उक्त चलचित्रमा किम जोङ उनको हत्या गर्ने काल्पनिक कथा प्रस्तुत गरिएको थियो।
त्यसको दुई वर्षपछि उत्तर कोरियाली ह्याकरहरूले पैसा चोरीतर्फ ध्यान केन्द्रित गरे। सन् २०१६ मा बंगलादेशको केन्द्रीय बैंकमाथि गरिएको साइबर आक्रमणमा ह्याकरहरूले करिब १ अर्ब डलर चोरी गर्ने प्रयास गरेका थिए।
फिसिङ इमेलमार्फत बैंकको प्रणालीमा प्रवेश गरेका ह्याकरहरूले एसियाका विभिन्न खातामा रकम पठाउन नक्कली आदेश दिएका थिए। एउटा आदेशमा भएको विशेष शब्दका कारण प्रणालीमा शंका उत्पन्न भएपछि ठूलो रकम रोकियो। त्यसअघि भने ह्याकरहरूले करिब ८ करोड १० लाख डलर चोरी गर्न सफल भएका थिए।
त्यसै समयमा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा बनाउँदै अवैध आम्दानीका स्रोत रोक्ने प्रयास गरिरहेको थियो। अर्कोतर्फ, ट्र्याक गर्न कठिन मानिने क्रिप्टोकरेन्सीको प्रयोग तीव्र गतिमा बढिरहेको थियो।
विशेषज्ञहरूका अनुसार यही अवस्था उत्तर कोरियाका लागि क्रिप्टोकरेन्सी चोरीको नयाँ अवसर बन्यो।
सामाजिक इन्जिनियरिङदेखि डीपफेकसम्म
उत्तर कोरियाली साइबर आक्रमणमा एउटा साझा पक्ष मानवीय कमजोरी हो। ह्याकरहरूले प्राविधिक प्रणालीभन्दा पहिले मानिसलाई निशाना बनाउने गर्छन्।
फिसिङ इमेल, नक्कली जागिरको अन्तर्वार्ता, डीपफेक फोन कल तथा कर्मचारीको नक्कली परिचय प्रयोग गरेर कम्पनीका कर्मचारीलाई झुक्याउने प्रविधि व्यापक रूपमा प्रयोग हुने गरेको अनुसन्धानकर्ताहरू बताउँछन्।
बाइनान्समाथिको आक्रमणमा पनि एक कर्मचारीलाई नक्कली जागिरको अन्तर्वार्तामार्फत झुक्याइएको र अर्को कर्मचारीले लुकेको मालवेयर डाउनलोड गरेको बताइएको छ। त्यसपछि ह्याकरहरूले कम्पनीका डिजिटल वालेटमा प्रवेश गरी २० मिनेटमै ६ अर्ब डलरभन्दा बढीको क्रिप्टोकरेन्सी चोरी गरेको टीआरएम ल्याब्सको दाबी छ।
चोरी गरिएको रकमलाई नगदमा परिणत गर्नु भने अर्को चुनौती हो। सन् २०२५ मा क्रिप्टो प्लेटफर्म बाइबिटमाथि भएको आक्रमणमा ह्याकरहरूले करिब १ अर्ब ५० करोड डलर बराबरको इथेरियम चोरी गरेका थिए।
त्यसपछि विभिन्न ‘ब्रिज’ प्रयोग गरी क्रिप्टोकरेन्सीलाई बिटक्वाइनमा परिवर्तन गरिएको थियो। रकमको स्रोत लुकाउन विभिन्न ब्लकचेन, मिक्सर तथा अन्य माध्यमबाट पटक–पटक कारोबार गराउने गरिन्छ।
अनुसन्धानकर्ताहरूका अनुसार अन्तिम चरणमा चोरी गरिएको क्रिप्टोकरेन्सीलाई अमेरिकी डलरसँग जोडिएको स्थिर मुद्रा ‘यूएसडीटी’ मा परिणत गरी अवैध ब्रोकरमार्फत बिक्री गरिन्छ। त्यसबाट चिनियाँ बैंक खातामा रकम, युनियनपे कार्ड वा नगद प्राप्त गर्ने र त्यसलाई उत्तर कोरियाको आफ्नै अवैध धन शुद्धीकरण सञ्जालमा पठाउने गरिएको अनुमान छ।
यद्यपि चोरी गरिएको सबै रकम उत्तर कोरियाले प्रयोग गर्न पाउँदैन। दर्जनौँ कारोबार र रूपान्तरणका क्रममा केही रकम सरकारी निकाय वा क्रिप्टो प्लेटफर्मले रोक्ने भएकाले चोरी भएको रकमको करिब ७५ देखि ८५ प्रतिशतसम्म मात्र अन्ततः प्राप्त हुने अनुमान छ।
आणविक कार्यक्रमका लागि आर्थिक स्रोत
संयुक्त राष्ट्रसंघको सन् २०२४ को एउटा प्रतिवेदनअनुसार उत्तर कोरियाको साइबर गतिविधिबाट प्राप्त आम्दानीले उसको विदेशी मुद्रा आम्दानीको करिब आधा हिस्सा ओगट्न सक्छ।
यसबाट पेट्रोलियम तथा अन्य सामग्री खरिददेखि अवैध रूपमा उत्पादन तथा बिक्री गरिने वस्तुको कारोबारसम्म सञ्चालन हुने गरेको विश्लेषकहरूको अनुमान छ। त्यसमध्ये ठूलो हिस्सा उत्तर कोरियाको हतियार तथा आणविक कार्यक्रमतर्फ जाने गरेको बताइएको छ।
संयुक्त राष्ट्रसंघका लागि तयार गरिएको उक्त प्रतिवेदनमा एक सदस्य राष्ट्रले उत्तर कोरियाको आमविनाशकारी हतियार कार्यक्रमको करिब ४० प्रतिशत हिस्सा अवैध साइबर गतिविधिबाट प्राप्त रकमबाट वित्तपोषित हुने जानकारी दिएको उल्लेख छ।
साइबर सुरक्षा अनुसन्धानकर्ता माइकल बार्नहार्टका अनुसार उत्तर कोरियाले रुसलाई सैनिक, गोलाबारुद र हतियारका सामग्री पठाउँदा समेत यही अवैध आर्थिक प्रणालीबाट प्राप्त रकम प्रयोग गरिरहेको हुन सक्छ। त्यसैले ठूलो क्रिप्टो चोरीलाई केवल सम्बन्धित एक्सचेन्जको समस्या नभई राष्ट्रिय सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
एआईसँगै खतरा अझ बढ्न सक्ने
संयुक्त राष्ट्रसंघले देश, व्यवसाय तथा सर्वसाधारणलाई साइबर सुरक्षा मजबुत बनाउन र क्रिप्टोकरेन्सी प्लेटफर्मलाई उत्तर कोरियासँग सम्बन्धित कारोबार पहिचान गर्न थप निगरानी तथा अनुसन्धान प्रणाली विकास गर्न सुझाव दिएको छ।
तर विशेषज्ञहरूका अनुसार यस्ता आक्रमण पूर्ण रूपमा रोक्न कठिन छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै ह्याकरहरूले अझ विश्वसनीय नक्कली परिचय, भिडियो बैठक र डीपफेक प्रविधि प्रयोग गर्न सक्ने भएकाले जोखिम बढ्ने अनुमान गरिएको छ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले नोभेम्बरमा सार्वजनिक गरेको विवरणअनुसार उत्तर कोरियाली समूहले पछिल्लो १८ महिनामा विश्वभर डीपफेक परिचय र नक्कली भिडियो बैठक प्रयोग गरी करिब ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरिसकेको छ।
विशेषज्ञहरूका अनुसार बाइनान्समाथिको पछिल्लो आक्रमणको आकार अत्यन्त ठूलो भएकाले यसलाई पार गर्ने अर्को आक्रमणको कल्पना गर्नसमेत कठिन छ। तर विगतमा बाइबिटको चोरी पनि त्यस्तै असम्भवजस्तो देखिएको थियो। त्यसैले उत्तर कोरियाली साइबर आक्रमणको जोखिम आगामी दिनमा अझ बढ्न सक्ने उनीहरूको चेतावनी छ।(स्रोत : सिएनएन)
