कमलरीका न्यायका लागि

उत्पीडनहरूका आवाज झेलेका फरैना

दिपेन्द्र श्रेष्ठ, मैत्री न्युज

कहाँ पिल्सिएका छैनन मानिस ? मानवियताकाे पराकाष्ठा नाघेपछि पिल्सिने रहेछ मानिस, हाे फरैना पनि त्यहि पराकाष्ठा भित्रकाे एक जाज्वल्य घटना हुन् ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय सन्ताेष श्रेष्ठ फरैनाका पिता हुन् जस्ले फरैना जन्माए। थारु समुदायकी कमलरी महिलाले भोग्नु परेको समस्यालाई मुटुमा राखेर प्राण भरेकाे फरैना एक सुन्दर युवती हाे । जाे पिडा भरेकी थारू समुदायकी महिला हुन् ।

श्रेष्ठकाे फरैना पहिलो उपन्यास हो । तर पाठकले जबरजस्ती मान्दैनन् । फरैना शब्दले मात्र चित्त बुझ्दैन । फरैना, भित्रै डुबुल्कीमार्न मनलाग्ने पुस्तक हाे । बेतिथि, विसङ्गति, असमानता र संघर्षका आवाजकाे बिगुल बनेकाे फरैनालाई घटना परिघटनाहरूले जिबन्त बनाएकाे छ ।

जुगौंदेखिको अनेकौं पिडा बाेकेकाे कमैया प्रथाको अन्त्य गर्न र शोषित वर्गलाई मुक्ति दिलाउने फरैना एक माध्याम हाे । आख्यानकार श्रेष्ठ एक पुल हुन् । जन्मदा नै साहुको ऋणको भारी बोक्न बाध्य कमैयाको दर्दनाक कहानी आख्यानकार श्रेष्ठका आँखा हुन् ,जस्ले देखे र फरैना बने ।

फरैनाका कुरा…….
समयको सिर्के सिरेटो सबैको शिर छुँदै, भाग्दै गरिरहेथ्यो । घाम, जून, मैदान र नदीहरू आफ्नै लयमा बाँचेका थिए । देशमा चेतनाको लहर क्रमशः फैलँदै थियो । देशमा विवेकको बत्ती बल्नु भनेको झिङ्नी गाउँ पनि धेरथोर उज्यालो हुनु थियो ।

यसै सिलसिलामा कमैया मुक्ति आन्दोलनपछि गठित आयोगले आफ्नो प्रतिवेदन पेस गर्यो । उक्त आयोगले सरकारी नीति निर्देशनबमोजिम व्यावहारिक रूपमा हालसम्म कार्यान्वयन हुन नसकेको भन्दै ती पीडितहरूकै पक्षको प्रतिवेदन जनसमक्ष ल्यायो यद्यपि जमिनदारहरूको तीव्र दबावले गर्दा त्यो पनि यथासमय कार्यान्वयनमा आउन भने सकेन ।

त्यसपछि शोषित वर्गबाट लगभग आन्दोलन हुने निश्चित भयो । पीडित थारू समुदायको बृहत् भेला भयो । जसमा आफ्ना माग पूरा नभएसम्म नारा र जुलुससहित आन्दोलन गर्ने निर्णय भयो । जुलुसको नेतृत्व गर्ने जिम्मा फरैनालाई दिइयो । फरैना मन, वचन र कर्मले प्रतिबद्ध भई आन्दोलनमा होमिइन् ।

फरैनामाथि ठूलो जिम्मेवारी र चुनौती थपियो । उनले सबैसँग सहमति लिँदै आफ्नो जिम्मेवारी पूरा गर्ने आँट गरिन् । के कसरी आन्दोलनलाई सफल पार्ने ? सरकारसमक्ष केके कुराको माग गर्दै दबाव दिने ? जमिनदार तथा समाजका अन्य टाठाबाठाहरूले अवरोध खडा गर्न खोजेमा त्यसको प्रतिकार कसरी गर्ने ? यसका लागि कसरी धैर्यशील र लगनशील रहने ? यिनै महत्त्वपूर्ण विषयहरूमा विशेष ध्यान दिँदै आफ्नो हक तथा हितको सुनिश्चित गर्नेतर्फ सबैलाई सचेत एवम् सतर्क गराउँदै आफ्नो भूमिकालाई सशक्त बनाउन फरैना कम्मर कसेर लागिन् ।

आन्दोलनको दिन नजिकिँदै गर्दा सर्वत्र यसबारे हल्ला फैलियो । अब भने जमिनदारहरूलाई चिन्ताले सताउन थाल्यो । उनीहरूले सकभर यो आन्दोलन नभए हुन्थ्यो भनेर चल्मलाउने कोसिस गरे । बीचमा घुसपैठ गरेर चलखेल गर्न पनि खोजे किनकि यदि यो आन्दोलन भयो भने उनीहरूको वर्गीय स्वार्थ विपरीत हुन्छ भन्ने कुरा विदितै थियो । त्यसैले सकेसम्म यो आन्दोलनलाई तुहाउने पक्षमा जमिनदारहरू थिए ।

भोलि आफूहरूले थारू समुदायलाई कजाउन नपाइने र उनीहरूलाई मोहीयानी हक प्राप्त भएमा आफ्नो जग्गाजमिन काटेर दिनुपर्ने, कमैया, कमलरी राख्न नपाउँदा आफूहरूलाई कामको दुःख हुने कुराले जमिनदारहरू भयभीत थिए । अतः कुनै हालतमा पनि यो आन्दोलनलाई तुहाउनुपर्छ भन्ने कुदृष्टि उनीहरूमा पलायो ।

भोलि आफूहरूले थारू समुदायलाई कजाउन नपाइने र उनीहरूलाई मोहीयानी हक प्राप्त भएमा आफ्नो जग्गाजमिन काटेर दिनुपर्ने, कमैया, कमलरी राख्न नपाउँदा आफूहरूलाई कामको दुःख हुने कुराले जमिनदारहरू भयभीत थिए । अतः कुनै हालतमा पनि यो आन्दोलनलाई तुहाउनुपर्छ भन्ने कुदृष्टि उनीहरूमा पलायो ।

चर्चित आन्दोलनको सफलता लगभग सुनिश्चित देखिएकाले अहिले नै यस्तो ठूलो आन्दोलन गर्न उचित नभएको भन्दै त्यसो नगर्न जमिनदारहरूले आग्रह गरे । यसका साथै डर, धम्की देखाउनसमेत लागे । कतिपयले त दमित थारूहरूलाई फकाई फुल्याई गर्नसमेत पछि परेनन् यद्यपि कमैयाहरूको यो आन्दोलन कदापि रोकिने छाँट भने देखिएन ।

आन्दोलनमा होमिएका थारू समुदायहरू कुनै पनि बहानामा र कसैको दबावमा पछि फर्किन सक्ने अवस्था थिएन । उनीहरू पछाडि फर्किनु भनेको आफ्नो जीवन र आउँदो पुस्ताको भविष्य धेरै अन्धकारमा रुमलिनु पनि हो ।

आन्दोलनमा होमिएका थारू समुदायहरू कुनै पनि बहानामा र कसैको दबावमा पछि फर्किन सक्ने अवस्था थिएन । उनीहरू पछाडि फर्किनु भनेको आफ्नो जीवन र आउँदो पुस्ताको भविष्य धेरै अन्धकारमा रुमलिनु पनि हो ।

थारू समुदायको कार्ययोजनाअनुरूप आन्दोलन अघि बढ्यो । ठाउँ ठाउँबाट जुलुसहरू निस्किए । यत्रतत्र नारा घन्किन थाले । झण्डा, ब्यानर र प्लेकार्डहरू हात हातमा थिए । निकै भव्य र शान्त जुलुस गाउँगाउँ बस्तीबस्ती हुँदै शहर पस्यो । अरू शुभचिन्तक र सहयोगीहरूलाई समेत समेट्दै जुलुस अगाडि बढ्यो ।

जुलसमा शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरूले पहरा दिइरहेका थिए । शान्तिपूर्ण जुलुस सार्वजनिक स्थानमा पुगी आमसभामा परिणत भयो । आन्दोलनकारी धेरै व्यक्तित्वहरूले यो आन्दोलन गर्नुको बाध्यता र औचित्यबारे स्पष्ट पारे ।

हाम्रो आजको आवश्यकता तथा यस शान्तिपूर्ण आन्दोलनको मर्म र भावनालाई बुझी सार्वजनिक रूपमा यो खुला कार्यक्रममा कुनै रोकावट नगरी हामीलाई अप्रत्यक्ष सहयोग पुर्याएकोमा सरकार, स्थानीय प्रशासन, सुरक्षाकर्मी, मानव अधिकारवादी एवम् सर्वसाधारण सबैमा हामी सम्पूर्ण आन्दोलनरत पक्षबाट र म फरैना चौधरीकोे व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन गर्दछु । फरैनाले यति सम्बोधन गर्दा उपस्थित जनमानसबाट पटटट ताली बज्यो ।

यति मात्रले फरैना पूरा हुँदैन, पुस्तक उठाउनै पर्छ, जस्तै फरैनाले बैचारिक हतियार उठाएझैं । जुगौंदेखिको भूमिपुत्रले पीडादायी जीवनलाई घिसारिरहेको कसैले देखेनन् जब फरैनाले देखे एउटा आवाज बनेर निस्क्याे ।

नेपालको पश्चिम भेगमा पुस्तौंदेखि चलिआएको कमैया प्रथाको अन्त्य गर्न र शोषित वर्गलाई मुक्ति दिलाउन जति फरैनालाई दु:ख भएकाे छ त्यतिनै कष्ट छ फरैनाका पितालाई ।

एउटा झिङ्नी बस्तीमा थारु समुदाय चरम शोषण र उत्पीडनमा परेको कथाभित्र गरिब र धनीबिचमा ठूलो खाडल छ, जातपातको विभेद छ, कमैया र जमिनदारको अन्तर छ, यौनहिंसाले पिल्सेका छोरीचेलीको आँशु छ । दिनदुःखी विपन्नहरू शिक्षा स्वास्थ्यबाट बन्चित छन् र मान्छेले मान्छेलाई गर्ने व्यवहारमा धेरै भिन्नता छ । त्यसैले न्यायको ढोकासम्म फरैना पुग्न सक्छ ।

थारु समुदाय भूमिहिन भएको मुद्दा मात्र हाेइन, थारुहरूका रीतिरिवाज, संस्कार, परम्परा, भाषा, भेषभूषा, संस्कृति, जीवनयापन, मर्दापर्दा , विवाह संस्कार, मृत्यु संस्कार, झोपडीका भित्ताहरूमा आफ्नै शैलीको कला, कृति आदिले सिङ्गो थारु समुदायको इतिहास उठाएकाे छ ।

समग्रमा फरैना पढनैपर्ने पुस्तक हाे । राम्राे बाहिरी कभरका साथ इन्डिगो इन्कबाट प्रकाशित यो उपन्यासको मूल्य ३५९ रुपैयाँ राखिएको छ । थारू संस्कार, संस्कृति र मुख्यरूपमा थारू के हाे भनेर बुझ्न फरैना पढ्नै पर्छ ।