आधुनिकताले छोएन बागलुङका पशुपालक किसानलाई

बागलुङ, १३ मंसिर । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन ।

एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् । एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन् । पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरु परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् ।

स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउछन् । उनले भने, “नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।”

उनले १८ भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आएका छन् । उनले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेँडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताए ।

“बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ”, उनले भने, “मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैँ निको हुन्छन् ।”

स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गर्दै आएको छ । उनी आफ्ना पुर्खाले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताउछन् । उनले भने, “हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ ।”

परम्परागत प्राणालीबाट पशुपालन गर्दै आएका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन । गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उनी आफैँ ओखतीमुलो गर्छन् । अहिले उनको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन् ।

“माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्”, उनले भने, “सामान्य रोगको उपचार म आफै पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन् ।”

आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउँछन् ।

स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गरे । सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने उनकाे भनाइ छ । लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो ।”

पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांंश समय गोठमै बस्छन् । पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउँछन् ।

उनीहरूजस्ता निसीखोलामा सयौँ पशुपालक छन् । तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट टाढा रहेका छन् । गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिङ्गो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *