आउनोस्, एक छिन कतार घुमौँ
अजय मानन्धर
कतार, २४ मंसिर । कतार अहिले विश्व कप फुटबलको महामेलामा उधुमै रंगिएको छ । उसै पनि गरम छ कतार । त्यसमाथि हिजोदेखि शुरु भएको विश्वकप क्वाटर फाइनल चरणले कतारका गरम सडक गल्लीहरुमा अझ तातो थपिदिएको छ ।
विश्वकपका लागि कतारलाई भव्य रुपमा सिंगारिएको देखिन्छ । नगरका फराकिला सडकहरूमा २०–२५ तले अग्ला भवनहरू पूरै छोपिने गरी विश्वकपका खेलाडीहरूको तस्बिर टाँसेर सजाइएको देख्न सकिन्छ । नगरमा छिर्ने बित्तिकै विश्वकपको गन्ध आइहाल्छ ।
यी सडकहरू राति भएपछि पूरै बत्तीले सिँगारिएका हुन्छन् । बत्तीले त्यो क्षेत्र यसरी तेजिलो बनेको हुन्छ मानौं त्यहाँ राति नै सूर्य उदाएको छ । विशेष गरी रंगशाला भएका क्षेत्र वरिपरिका ठाउँहरूलाई यसरी सजाइएको देखिन्छ ।
यसपालीको विश्वकप हेर्न पहिलेको तुलनामा नेपालीहरू पनि धेरै संख्यामा आएको देखिन्छ । रंगशाला वरिपरि नेपालीहरूलाई भेट्न सकिन्छ । तर कतारमै काम गर्ने नेपाली श्रमिकहरू भने टिकट काटेर म्याच हेर्न सक्ने हैसियतमा छैनन् । उनीहरूलाई विभिन्न ठाउँमा राखिएका ठूलठूला स्क्रिनहरूमा विश्वकपको मज्जा लिइरहेको भेट्न सकिन्छ ।
विश्वकपका लागि सिँगारिएको कतारका केही तस्बिरः
(मकवानपुर एन्फाका पदाधिकारी मानन्धर हाल विश्वकप हेर्न कतारमा हुनुहुन्छ ।)