फिफा विश्वकप फुटबलकाे सेमिफाइनल खेल आज मध्यराति हुँदै
काठमाडाैं, २७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज मध्यराती अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
कतारको दोहास्थित लुसेल रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार आज मध्यराति १२ः४५ बजे हुनेछ ।
अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् ।
क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । अन्तिम पटक २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो ।