नेप्से परिसूचक झिनो अंकले घट्याे, कारोबार रकम ७७ करोडमा सिमित

काठमाडाैं, २७ मंसिर । मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से २.५७ अंक घटेर १८९९.७० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २४८ स्टकको १६ हजार ३२० पटकको कारोबारमा ७७ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको २० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २०५ रुपैयाँ ४० पैसा बढेर २ हजार २६० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो भने बाँकी उपसमूहको परिसूचक घटेको हो।