फ्रान्स र मोरक्कोबीचकाे दोस्रो सेमिफाइनल खेल आज हुँदै

काठमाडाैं, २८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल फ्रान्स र मोरक्कोबीच आज हुँदैछ ।

खेल कतारको दोहास्थित अल बायत रङ्गशालामा आज राति १२ः४५ बजे सुरु हुनेछ ।

फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो भने अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो । आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

गए रातिकाे खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएर फाइनल यात्रा तय गरेको छ ।