नारामा मितव्ययी फजुल खर्चमा उत्साहित बन्दै काठमाडौं महानगर, मेला र पदकमा करोडौँ सक्दै

काठमाडौं, २८ मंसिर । ०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएपछि हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । वि.सं. १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको थियो । यही दिनको अवसर पारेर काठमाडौं महानगरपालिकाले हरेक वर्ष महानगर दिवस मनाउँदै आइरहेको छ । तर, महानगर दिवसको अवसर पारेर गरिने फजुल खर्चका कारण सप्ताहव्यापी कार्यक्रमभन्दा पनि जनताबाट उठाएको महँगो करको दुरुपयोग बढी हुने गरेको छ ।
महानगरपालिकाको नेतृत्वमा आउनु अघिसम्म बालेन्द्र साह आफैँले अन्तर्वार्ताहरुमा मितव्ययी नीतिलाई प्राथमिकता दिने बताउनुहुन्थ्यो । नभन्दै उहाँ निर्वाचित भएर महानगरपालिको नेतृत्वमा आएपछि धेरैले उहाँको मिततव्ययी नीतिको अपेक्षा पनि गरेका थिए । तर, उहाँले नेतृत्व गरेपछि महानगरपालिकामा मितव्ययी नीतिको कुनै पनि गुञ्जायस देखिएको छैन । बरु पुराना जनप्रतिनिधिलाई समेत माथ गर्ने गरी उहाँको फजुल खर्चका कारण कर्मचारी समेत चकित बनेका छन् ।
महानगरपालिकाको नेतृत्वमा आउनु अघिसम्म बालेन्द्र साह आफैँले अन्तर्वार्ताहरुमा मितव्ययी नीतिलाई प्राथमिकता दिने बताउनुहुन्थ्यो । नभन्दै उहाँ निर्वाचित भएर महानगरपालिको नेतृत्वमा आएपछि धेरैले उहाँको मिततव्ययी नीतिको अपेक्षा पनि गरेका थिए । तर, उहाँले नेतृत्व गरेपछि महानगरपालिकामा मितव्ययी नीतिको कुनै पनि गुञ्जायस देखिएको छैन
अहिले महानगर दिवसका नाममा समेत महानगरपालिकाले विगतका परम्परालाई नै निरन्तरता दिँदै काठमाडौं महानगर दिवस सप्ताहव्यापी विविध कार्यक्रमसहित धुमधामसँग मनाइरहेको छ । महानगरपालिकाले अहिले २८ औँ महानगर दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा विविधि कार्यक्रम आयोजना गरेपछि जनप्रतिनिधि पनि आ–आफ्नो वडाको सेवा प्रवाहमा भन्दा पनि दिवसको कार्यक्रममै बढी व्यस्त हुन थालेका छन् भने कर्मचारीलाई पनि यो बेला भ्याइ–नभ्याई छ ।
महानगर दिवस सप्ताहव्यापी रुपमा मनाउँदा नागरिकले तिरेको करको दुरुपयोग मात्रै हुँदैन महानगरपालिकाको करोडौं बजेट समेत अनावश्यक खर्च हुने गरेको छ । तर, त्यसमा मेयर साहको ध्यान गएको देखिँदैन । बरु, उहाँले महानगर दिवसको नाममा गरिने फजुल खर्चलाई बढवा दिदैँ आउनु भएको छ । काठमाडौं महानगरले यही मंसिर २३ गतेबाट सुरु गरेको सप्ताहव्यापी कार्यक्रम २९ गते बसन्तपुरमा आयोजना हुने मूल समारोहसँगै समापन हुनेछ ।
हप्ताहव्यापी कार्यक्रमका सन्दर्भमा गरिएका केही कार्यक्रम सान्दर्भिक पनि छन् । तर, अधिकांश कार्यक्रम बजेट सक्ने र काठमाडौं महानगरलाई आर्थिक भार थप्ने प्रकृतिका मात्रै रहेका छन् । धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरुका लागि चित्रकला र निबन्ध लेखन, शिक्षकहरु बीच वक्तृत्वकला, जेल भित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीहरुका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बीच हाजिरी जवाफ प्रतियोगिता जस्ता केही सकारात्मक कार्यक्रम पनि महानगरपालिकाले गरेको छ ।
अझ गज्जब त के छ भने महानगरपालिकाले विभिन्नखाले महोत्सव र सम्मान कार्यक्रमहरुको समेत आयोजना गरेर थप खर्च बढाउने काम गरेको छ । मेयर ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्री फुटबल खेल जस्ता महंगा खेलहरु आयोजना गरेर महानगरपालिकाले व्ययभार थपेको भन्दै त्यसको समेत आलोचना भएको छ ।
यो पटक पनि महानगरपालिकाले ७ जना जनप्रतिनिधि र ५ जना कर्मचारीहरुलाई सेवाभावमा प्रेरित गर्न ‘महानगर सेवा गौरव पदक’बाट सम्मानित गर्ने भएको छ । यो पदकका लागि पनि दशौं लाख खर्च गर्दैछ ।
यो पटक पनि महानगरपालिकाले ७ जना जनप्रतिनिधि र ५ जना कर्मचारीहरुलाई सेवाभावमा प्रेरित गर्न ‘महानगर सेवा गौरव पदक’बाट सम्मानित गर्ने भएको छ । यो पदकका लागि पनि दशौं लाख खर्च गर्दैछ
त्यसै गरी महानगरपालिकाले ५० हजार नगदसहित उत्कृष्ट महानगर सेवा पुरस्कारबाट १० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ । यसमा पनि लाखौं रुपैँया खर्च हुनेछ । २५ जनालाई महानगर सेवा पुरस्कारबाट सम्मान गर्दैछ । यो पुरस्कार वापत पनि महानगरपालिकाले लाखौँ रुपैयाँ खर्च गर्दैछ । त्यसै गरी काठमाडौं नगरका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई (एक–एक महिलासहित) ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिनेछ । यसको राशी रु. एक लाख रहेको छ । त्यस्तै एक लाख राशीकै साधना अग्रणी महिला पुरस्कार भनेर ४ जना महिला जनप्रतिनिधिलाई प्रदान गर्दैछ । त्यसैगरी पाँच जनालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान गर्ने तयारी पनि महानगरपालिकाले गरेको छ ।
महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरुलाई पुरस्कारको नाममा यसरी जनताबाट उठाएको कर मुठ्ठी खोलेर बाँडे पनि ती कर्मचारीले जनतालाई दिने सेवाप्रवाहमा भने एकरत्ति सुधार नभएको गुनासो सेवाग्राहीहरुले गरिरहेका छन् । कर्मचारीको सक्रियता जनताको काम गर्नेभन्दा पनि पुरस्कार थाप्नमा बढी केन्द्रित हुने गरेको गुनासो पनि सर्वसाधारणको रहेको छ ।
सम्बद्ध कर्मचारीहरुका अनुसार यो पुरस्कार पनि माथिसम्म पहुँच बनाउन सक्ने कर्मचारीले मात्र पाउने भएकोले नपाउने कर्मचारीहरू झन् निराश हुने गरेका छन् ।
स्मरणीय छ, महानगरपालिकाको पुरानो नेतृत्वले यस्तै अनावश्यक खर्च गरी व्ययभार बढाए भन्ने आरोप लगाउँदै आएको वर्तमान नेतृत्वले त्यसलाई पनि माथ हुने गरी फजूल खर्च गरेकोमा महानगरपालिकाका पुराना कर्मचारी चकित भएका छन् ।