वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माण हुने
काठमाडौँ, ४ पुस । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ ।
वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ ।
पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र हिलो नआउने गरी पानी राजधानी ल्याउने विषयमा सरोकारवाला निकायसँग छलफल चलिरहेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
यस्तो संरचनाले सामान्य अवस्थामा आउने बाढी रोक्नेछ । विसं २०७८ असार १ मा आएजस्तो करिब एक शताब्दीमा आउने बाढी भने यो संरचनाले नधान्ने आयोजनाले जनाएको छ । सामान्य बाढी धान्ने भएकाले ‘हेडवक्र्स’ नबनेसम्मका लागि यो संरचना बनाउन लागिएको हो ।
वर्षामा पनि पानी राजधानी ल्याउन सकिने गरी अस्थायी संरचना बनाउने प्रस्ताव तयार भएको उहाँले बताउनुभयो । यस्तो संरचना आगामी जेठ अगावै बनाइने छ ।