विश्वमा बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह : अन्त्यका लागि राष्ट्रसङ्घको आह्वान

बालविवाह तथा जबर्जस्ती विवाह अन्त्य

काठमाडौँ, मङ्सिर ११ । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ ।

बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले बालिकाको अधिकार संरक्षण र विवाहसम्बन्धी हानिकारक प्रथा अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । राष्ट्रसङ्घीय महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्ष पहिलोपटक यो दिवस मनाउन लागिएको हो ।

राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो । विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्याङ्क छ ।

महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गर्नुभएको छ । गत अक्टोबर ११ मा अन्तरराष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा उहाँले गरिबीलाई बालविवाहको प्रमुख कारणका रूपमा औँल्याउँदै द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने बताउनुभएको थियो ।

बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उहाँको भनाइ छ । पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका प्रयासबाट करिब छ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको भए पनि हालको प्रगतिको गति कायम रहे यसको अन्त्य हुन अझै शताब्दीयौँ लाग्ने उहाँले चेतावनी दिनुभएको छ ।

यसैगरी, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा सम्बोधन गर्दै उहाँले बालविवाह मानवअधिकारको उल्लङ्घन भएकाले विवाहको न्यूनतम उमेर १८ वर्ष निर्धारण गर्ने कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभएको थियो ।

विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ । साथै, बालिकालाई आफ्ना जीवनसँग सम्बन्धित निर्णय तथा समाधान प्रक्रियामा सहभागी गराउनुपर्ने र उनीहरूको न्यायमा पहुँच तथा संरक्षण सेवाको सुनिश्चितता गर्नुपर्ने उसको भनाइ छ ।

राष्ट्रसङ्घका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ । विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन् । त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख बालिका तथा महिला बालविवाहको प्रभावमा रहेका छन् ।

पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ । यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकामा अहिले उक्त अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ । यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ ।

बालविवाहका कारण बालिकाले शिक्षा र आर्थिक आत्मनिर्भरताको अवसर गुमाउनुका साथै स्वास्थ्य तथा व्यक्तिगत स्वतन्त्रतामा समेत प्रतिकूल असर पर्ने गरेको छ । यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा र यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घको भनाइ छ ।

दिगो विकास लक्ष्यको लक्ष्य नं ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ । तर, हालको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसङ्घले जनाएको छ । त्यसैले कानुनी सुधारसँगै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच, सामाजिक तथा आर्थिक सुरक्षा र समुदायस्तरमा सचेतना विस्तारलाई प्राथमिकता दिनुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *