नाइजेरियामा हैजाको प्रकोप, २० जनाको मृत्यु

एजेन्सी, ४ पुस । नाइजेरियामा पछिल्लो केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नाइजेरियामा हैजाको प्रकोपमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका छन्।

यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप बढी फैलिएकोले के कारणले यहाँ प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ ।

यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएको छ । गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरूलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।

नाइजेरियामा घना बस्तीहरूमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ ।