एमाले जनताको रोजाईको पहिलो पार्टी विशेष कार्यक्रम (भिडियो रिपोर्ट)

काठमाडौं, ५ पुस । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा अरु बेला भन्दा आज फरक खालको दृष्य देखियो । विभिन्न कार्यक्रमले खचाखच हुने नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आज मुलुकभरीबाट राजधानी आएका नेकपा (एमाले) का प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचित सांसदहरुले टनाटन भएको थियो । अझ गज्जबको दृष्य त के थियो भने अरुबेला राजनीतिक दलका कार्यक्रम हुँदा पार्टीका झण्डाले झकिझकाउने हुने प्रतिष्ठानको हलमा खचाखच निर्वाचित सांसद र उपस्थित कार्यकर्ताको हातमा राष्ट्रिय झण्डा थिए ।

अर्को फरक दृष्य त्यहाँ के थियो भने अरु बेला मञ्चमा लहरै नेताहरु बस्ने र दर्शकदीर्घामा बसेर उपस्थित अरुले नेताहरुलाई टुलुटुलु हेरिरहनु पर्ने हुन्थ्यो । आज त्यस्तो दृष्य पनि त्यहाँ देखिएन । बरु एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पदाधिकारी र निर्वाचित सांसदहरु दर्शकदीर्घाकै लाइनमा थिए । एमालेले नेपाल प्रज्ञाप्रतिष्ठानको भवनमा ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ विशेष कार्यक्रमको आयोजना गरिरहेको छ भनेर ठम्याउँन भने कुनै पनि मुस्किल त्यहाँ थिएन ।

जताततै त्यहीँ नारासहितका फ्लेक्सहरुले स्वागत गरिरहेका थिए । त्यहि माहोलमा एमाले महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष ओलीलाई कार्यक्रम उद्घाटनका लागि आग्रह गर्नुभयो । अध्यक्ष ओली पनि ठाँटिलो शैलीमा मञ्चमा पुग्नुभयो र छोपिरहेको नेपालको चुच्चे नक्शा खोल्नुभयो अनि राष्ट्रिय झण्डा फहराउँनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय झण्डा फहराएपछि भर्खरै सम्पन्न दोहास्थित लुसेल रंगशालामा अर्जेन्टिनाले विश्वकपको उपाधी उचाल्दै गर्दा निलो र सेतो रंगको जर्सीमा जुरुक्क उठिरहेको दृष्यको झल्को दिनेगरी हातहातमा राष्ट्रिय झण्डा र सूर्य अंकित झण्डालिएर हलमा खचाखच कार्यकर्ताले एकै पटक हल्लाउँदा त्यहाँको वातावरण नै उल्लाहसमय बनेको थियो । अनि सबैले एकै स्वरमा नेकपा एमाले जिन्दावाद भन्दा हलनै गुज्जाएमान भएको थियो ।

सात प्रदेश मध्ये ६ वटा प्रदेशमा एमाले जनताको रोजाईमा पहिलो पार्टी बनेको तथ्याङ्कसहितको वृत्रचित नै एमालेले प्रस्तुत गर्दा हल पटक–पटक तालीले गुज्जायमान भएको थियो । सातवटै प्रदेशबाट विजयी सबै सांसदहरुलाई कार्यक्रममा पालैपालो परिचय गराइएको थियो । सोही कार्यक्रममा नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुने जिल्लाका अध्यक्षहरूलाई सम्मानित पनि गरेको थियो ।

७७ जिल्लामध्ये एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीट जितेर क्लिन स्वीप गर्न सफल अर्घाखाँची, धनकुटा र पर्वतका अध्यक्षहरु क्रमश पीताम्बर भुसाल, इन्द्रमणी पराजुली र राजु पौडेललाई पनि सम्मानित गरेको थियो ।

त्यसैगरी इतिहासमै पहिलो पटक चुनावी जित निकाल्न सफल भएको सोलुखुम्बु जिल्लाका अध्यक्ष डुफ कुमार बास्तोलालाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।
विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाईपछि कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो सम्वोधनका क्रमममा उहाँले आम निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग भएको र जनताको सार्वभौम अधिकारको हनन गरेर एमालेको हातबाट विजयी खोसिएको दाबी गर्नुभएको थियो ।

थुप्रै ठाउँमा धाँधली भएको र चुनाव गराउने निकायको भूमिका पनि निष्पक्ष नदेखिएको गुनासो समेत उहाँले गर्नुभयो । उहाँले आफूले सोचे जस्तो परिणाम ल्याउने नसके पनि एमाले हामी उल्लासमय वातावरणमा रहेको भन्दै चुनावअघि एमालेलाई धुलो चटाउने, दिउँसै टर्च बालेर खोज्नुपर्ने अभिव्यक्तिहरुलाई गलत सावित गरिदिएको दाबी पनि गर्नुभयो ।

उहाँले आज प्रज्ञाभवनको हलमा निकै लामो भाषण गर्नुभयो । तर, त्यो भाषणको शैली पनि अरुबेला भन्दा फरक खालको थियो । बुँदा टिपोट गरेर ल्याएको डायरी पटक–पटक हेर्दै उहाँले भाषण गर्नुभएको थियो । अरु बेला धाराप्रवाह भाषण गर्ने ओलीले आज बुदाँ टिपोटसहितको भाषण गर्दा ठाउँठाउँमा अलमलिएको प्रष्ट देखिन्थ्यो ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको एमालेबाट प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सम्पन्न भएपछि प्रज्ञाप्रतिष्ठिानकै डबलीमा सामुहिक तस्बिर खिचिएको थियो । गोधुलीसाँझमा खिचिएको त्यो तस्बिरले गोलुलीसाँझको सुन्दर दृष्यसँगै माननीयहरुको खुशीले डबलीको थप सोभा बढाएको थियो ।