शेयर बजारको सुधार धेरै दिन नटिक्ने

काठमाडौं, १२ पुस । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन गर्नेबित्तिकै शेयर बजार उकालो लाग्न थालेको छ । गत आइतवार प्रचण्डको नेतृत्वमा सरकार गठन हुने र त्यसमा बिष्णु पौडेल अर्थमन्त्री बन्ने समाचार सार्वजनिक हुने बित्तिकै शेयर बजारमा सकारात्मक संकेत देखा परिसकेको थियो ।

नयाँ सरकार आउने बित्तिकै हिजोदेखि नै शेयर बजार सुधार हुन थालिसकेको थियो भने त्यो क्रम आज पनि जारी नै छ । आज पनि शेयर बजार उक्लिएको छ भने यसले लगानीकर्ताहरूलाई पनि उत्साहित बनाएको छ ।

आजको बजारमा पनि नेप्से सूचक १२० प्वाइन्टसम्म बढेको छ । साथै कारोवारको संख्या र रकम पनि वृद्धि भएको छ ।

तर शेयर कारोवारमा सक्रिय ब्रोकरहरूका अनुसार शेयर बजारको यो बढोत्तरी धेरै समय टिक्ने सम्भावना भने देखिँदैन । हिजो भाउ बढ्ने बित्तिकै खरिद गरिएका शेयरहरू भोलि पर्सीदेखि नै बेचिन थाल्नेछन् । यसले गर्दा बजार फेरि खस्कन थाल्नेछ ।

ती सक्रिय ब्रोकरका अनुसार शेयर बजारको यथार्थ अवस्था माघ महिनादेखि मात्रै थाहा हुन सक्दछ । पुस अन्तिममा सबै कम्पनीहरूको छ महिने वासलात तयार भइसकेको हुन्छ भने त्यसपछि शेयर बजारले वास्तविक रफ्तार पक्रने देखिन्छ । उहाँका अनुसार हिजादेखि देखिएको सुधार नयाँ सरकारप्रतिको सकारात्मक संकेत मात्रै हो ।