पाँचथरको फिदिममा आगलागी, दुई जनाको जलेर मृत्यु दुई जना घाइते
पाँचथर, २० पुस । पाँचथरको फिदिममा गए राति आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।
फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएकाे हाे ।
जलेर उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।
आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो ।
स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।