एमाले महासचिवले भने जस्तै के जनसंगठनहरू भुत्ते हुँदै गएका हुन् ?

काठमाडौं, २७ पुस । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले जनसंगठनको सुदृढीकरणका लागि धुलिखेलमा दुई दिने कार्यशाला सम्पन्न गर्यो । सो भेलाले ११ बुँदे घोषणापत्र जारी पनि गर्यो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसम्मले सम्वोधन गर्नुभयो ।

कार्यशालामा उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा संगठन विभागका सदस्य काशीनाथ अधिकारीलगायतका नेताहरुले पनि सम्वोधन गर्नुभयो । घोषणापत्रमा जनसंगठनहरु आम जनसमुदायतमा पुग्ने भरपर्दा वर्गीय, सामुदायिक र पेशागत संगठनहरु भएकाले यिनीहरु सक्रिय बनाउनु पर्नेमा जोड दिइएको छ ।

त्यो भनेको जति काम हुनुपर्ने हो त्यति नभएको र साच्चिकै जनसंगठनहरु भुत्ते भए भन्ने आसयसहितको निष्कर्ष नै हो भन्ने देखिन्छ । पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गर्दै बढीभन्दा बढी संगठन विस्तार गर्ने कुरामा जोड दिदैँ सम्पन्न सो भेलालाई सम्वोधन गर्दै घोषणापत्रको आसय अनुसार नै महासचिव पोखरेलले पनि पार्टीका जनसंगठनहरू भुत्ते हुँदै गएको वताउनु भयो । उहाँले पार्टीका सबै जनसंगठनहरूलाई धारिलो बनाउनुपर्नेमा जोड पनि दिनुभयो ।

अझ आक्रमक शैलीमा पोखरेलले पाँच वर्षमा जनसरोकारका विषयमा एउटा आन्दोलन पनि नगर्ने जनसंगठन आवश्यक नभएको समेत बताउनुभयो । आठलाख पार्टी सदस्य भएको पार्टीमा जनसंगठनहरूका आधारमा ५० लाख जनमत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले एक संगठित सदस्य बराबर सातजना नागरिक एमालेका पक्षमा ल्याउने गरी कार्य गर्न पोखरेलले निर्देशन दिनुभयो । संगठित सदस्य भएर पार्टीलाई मत नराख्नेहरूको सदस्यता खारेज गर्न जनसंगठन र पार्टीका कमिटीहरूलाई पोखरेलले निर्देशन दिनुुभयो ।

नेकपा ९एमाले० निर्वाचनमा लोकप्रिय मतमा पहिलो पार्टी भए पनि जनसंगठनहरूको क्रियाशिलता नभएकै कारण पार्टीले प्राप्त गर्नुपर्ने मत कम आएको महासचिव पोखरेलले बताउनुभयो ।

२३ वटा जनसंगठनका १३० जना सहभागी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले कार्ययोजना निर्माण, सदस्यता विस्तार र जनसरोकारका विषयमा सशक्त हुने गरी एक महिनाभित्र खाका प्रस्तुत गर्न निर्देशन दिनुभयो ।

हरेक जनसंगठनका वडा तहदेखिको क्रियाशिलता र जनसरोकारका विषयलाई खवरदारी गर्ने गरी संगठन सशक्त बनाउन महासचिव पोखरेलले अनुरोध गर्नुभयो ।
‘जब व्यक्तिले आफूलाई सर्वज्ञ ठान्छ तब संगठनको मृत्यु हुन्छ’–महासचिव पोखरेलले भन्नुभयो–‘मान्छेको अन्तर्राष्ट्रिय जात एउटै हुन्छ भन्नेहरू नै जातीय पहिचान खोज्न थालेका छन् ।’

कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पनि एमालेमा बसेर एमालेका उम्मेदवार हराउन लाग्नेहरू अहिले सरकारको उन्मादमा भएको हुनसक्ने बताउँदै जनसंगठनलाई क्रियाशील बनाएर आगामी निर्वाचनमा बहुमत ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘जनसंगठनको अधिवेशन, भेला, गोष्ठी, समीक्षा, थप कार्यक्रमका बारेमा चैत्र मसान्तभित्र छलफल गरेर प्रतिवेदन पठाउन निर्देश गर्दछु,’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा पार्टीका उम्मेदवाहरूलाई जिताउन नलाग्ने, नेताहरूको घरदैलोमा मात्रै पुग्ने, मञ्चमा आसन र भाषणका लागि स्थान खोज्नेहरूको रेकर्ड राखेर पार्टीले अवसर दिने बेला हिसाबकिताव गर्ने छ ।’ केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनसंगठन सुदृढीकरण कार्यशालाको निष्कर्षका रूपमा धुलिखेल घोषणापत्र जारी गर्नुभएको थियो ।