ओलीले नेपालको पैयूँ र जापानको साकुराको सम्बन्ध सुनाउँदा जापानका पूर्व राज्यमन्त्री मगनमस्त

काठमाडौं, २८ पुस । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र जापानका पूर्व राज्यमन्त्री मासाकी तायराबिच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको नीजि निवास बालकोटमा करीब दुई घण्टा भएको भेटघाटमा नेपाल र जापानबिचको कुटनीतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने सहयोग आदन–प्रदानलगायतका विषयमा केन्द्रित भएर छलफल भएको थियो । एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्यका अनुसार भेटघाटको सुरुमै राज्यमन्त्री तायराले आफूहरुको टोलीलाई निवासमै बोलाएर भेट गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

आजै सगरमाथाको दृष्यावलोकन गरेर फर्किनु भएका मन्त्री तायराले करीब दुई घण्टाको भेटघाटमा नेपाल र जापानबिचको कुटनीतिक सम्बन्धनलाई अझ विस्तार गरेर अघि बढाउने कुरामा आफू सकारात्मक भएको बताउनुभएको थियो । ओलीले भेटका क्रममा नेपाल र जापानबिच कतै पनि दाग नलागे एउटै आमाका सन्तान जस्तो सम्बन्ध रहेको बताउनु भएको थियो । भेटमा एमाले परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालगायतको पनि उपस्थिति थियो ।

भेटका क्रममा ओलीले नेपाल र जापानबिच सन् १९५६ मा कुटनीतिक सम्बन्धन स्थापना भएको भए पनि नेपाल र जापानबिचको सम्बन्धन १२४ वर्षदेखि निरन्तर रहेको स्मरण गराउनु भएको थियो । अमेरिकाले करिब ७७ वर्ष अघि जापानका दुई सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेर गरेको नरसंहारका विषयमा पनि खुलेर कुराकानी भएको थियो । ओलीले जापानी जनताले ती दिनमा भोगेको पीडाको सम्झना गर्दै र जपानी जनताको मुुक्तिको कामना गर्दै परमाणु बम प्रयोगका विरुद्धमा नेपालले हरेक वर्ष नेपालमा ‘परमाणु बम विरुद्धको दिवस’ मनाएर प्राथना गर्ने गरेको स्मरण गराउनु भएको थियो । अध्यक्ष ओलीले मन्त्री तायरालाई त्यो स्मरण गराउँदा उहाँ भावुक हुनुभएको थियो ।

अमेरिकाले करिब ७७ वर्ष अघि जापानका दुई सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेर गरेको नरसंहारका विषयमा पनि खुलेर कुराकानी भएको थियो

मन्त्री तायराले हालका जापनका प्रधानमन्त्री त्यहि क्षेत्रका जनताको मतबाट विजयी भएको भन्दै त्यहाँको जनताको पीडामा नेपाले स्मरण गर्ने गरेको घटनाले आफू भावुक भएको भन्दै यो खवर जापान पुगेर प्रधानमन्त्रीलाई सुनाउन आफू आतुर भएको बताउनु भएको थियो । तायराले नेपालमा भर्खरै राजनीतिक नेतृत्व परिवर्तन भएको भन्दै आफू पनि सरकारको नेतृत्व गरेको दलकै प्रतिनिधि भएकाले नेपालको विकास र समृद्धिका लागि सहयोगको हात अघि बढाउन र सहयोगी बन्ने बताउनु भएको थियो ।
अध्यक्ष ओलीले नेपाल र जापानबिचको सम्बन्ध बारे विभिन्न खाले सन्दर्भ सुनाउँदा मन्त्री तायरा दंग पर्नुभएको थियो ।

गुलाबी रङको फूल फुल्ने पैयूँ नेपालले जापानलाई उपहार दिएको र जापानले त्यो फूललाई साकुरा फूल भनी राष्ट्रिय फूल बनाएको, मुस्ताङको फापरलाई जापानीहरुले त्यहाँको मुख्य खानाका रुपमा ‘सवा’ बनाएको, नेपालको असला माछालाई जापानले ‘गोल्डेन ट्राउट’ बनाएको जस्ता सन्दर्भ सुनाउँदा तयारा मगनमस्त बन्नु भएको थियो ।
भेटका क्रममा ओलीले १८९९ मा जापानका भिक्षुक नेपाल भ्रमणमा आएपछि १९०२ मा ८ जना विद्यार्थी अध्ययनका लागि जापान पठाएको, सन् १९७५ मे १६ का दिन नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथामा विजयी झन्डा फह¥याई सर्वोच्च शिखर पुग्ने पहिलो महिलाको नाम लेखाउने जुनको ताबेई जापानी भएको जस्ता स्मरण गराउँदा मन्त्री तायरा पटक–पटक भावुक बन्नुभएको थियो ।

गुलाबी रङको फूल फुल्ने पैयूँ नेपालले जापानलाई उपहार दिएको र जापानले त्यो फूललाई साकुरा फूल भनी राष्ट्रिय फूल बनाएको, मुस्ताङको फापरलाई जापानीहरुले त्यहाँको मुख्य खानाका रुपमा ‘सवा’ बनाएको, नेपालको असला माछालाई जापानले ‘गोल्डेन ट्राउट’ बनाएको जस्ता सन्दर्भ सुनाउँदा तयारा मख्ख पर्नुभएको थियो

मनास्लु हिमालमा पहिलो पाहिला टेक्ने पनि जापानी नै भएको पनि ओलीले स्मरण गराउनु भएको थियो । अध्यक्ष ओलीका हरेक कुरालाई ध्यानपूर्वक सुन्नुभएका मन्त्री तायराले अहिले जापानमा १ लाख ३० हजार नेपाली रहेको भन्दै जापानी सरकार उनीहरु सबैको अभिभावक बन्ने विश्वास दिलाउनु भएको थियो ।

‘नेपाली नागरिक अन्य देशको तुलनामा असल र अनुसाशित भएकाले जापानले नेपालीलाई पछिल्लो समय फ्रन्ट लाइनमा पनि काम दिन थालेको छ,’ तायराको भनाई उध्रित गर्दै सचिव शाक्यले भन्नुभयो, ‘नेपाली नागरिकले दिलाएको विश्वासबाट प्रभावित भएर विस्तारै जापानले नेपालीलाई तथ्याङ्क संकलन, प्रविधि, रकेट प्रविधिको उत्पादन जस्ता काममा पनि सहभागी गराउने प्रयास थालेको छ ।’ भेटमा मन्त्रीले नेपाललाई कृषि, उर्जा, प्रविधि, पर्यटन जस्ता विषयमा सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।