आज आमाको हातबाट तालुमा तेल दलेर ‘घ्यःचाकु संल्हू’ मनाइँदै

काठमाडौं, १ माघ । आज माघ १ गते देशभरि नै माघे संक्रान्ति पर्व मनाइँदै छ । आजको दिन विभिन्न समुदाय र विभिन्न स्थानमा विभिन्नै नामका चाडपर्व एवं मेलाहरू आयोजना हुँदैछ । खास गरी आजको दिनदेखि सूर्य उत्तरायण लाग्ने भएकोले यसलाई विभिन्न समुदायले आआफ्नै शैलीको पर्वका रूपमा मनाउने परम्परा रहँदै आएको छ ।

आजको दिनदेखि सूर्य मकर राशीमा प्रवेश हुने भएकोले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।

काठमाडौं उपत्यकामा भने यो दिनलाई ‘घ्यःचाकु संल्हू’ पर्वका रुपमा मनाउने गरिन्छ । आजको दिन विशेष गरी घिउ र चाकु मिलाएर खाने गरिन्छ । यी दुवै तत्वले शरीरलाई तातो प्रदान गर्दछ ।

उपत्यकामा मौसम अनुसारको खाना खाने गरी पर्वहरू मनाउने चलन छ । माघ महिनाको जाडोमा चाकु खानाले चिसोबाट बच्न सकिन्छ । घिउ र चाकु खाएर मनाउने पर्व भएकोले यसको नामै ‘घ्यःचाकु संल्हू’ राखिएको छ ।

घिउ चाकु सँगै आजको दिन मास, पालुंगो, तरुल, अदुवा, लसुन, तिलको लड्डु आदि जस्ता खाद्यान्न पनि खाने गरिन्छ । यी पनि शरीरलाई न्यानो र पौष्टिकता प्रदान गर्ने परिकार हुन् । आजको दिन चिउरासँग यी खाद्यान्नहरू खाने गरिन्छ ।

नेवार समाजमा आजको दिन गरिने एउटा विशिष्ट कार्य भने आमाको हातबाट टाउकोमा तेल लगाइने हो । आमाहरूले आज मास राखेर तताएको तेल आफ्ना छोराछोरीको टाउको तालुमै तेल दलिदिने गरिन्छ । साथै कान र नाकमा पनि तेल हालिदिने गरिन्छ ।

यसले नाक र कान सफा हुनुका साथै तालुलाई पनि चिसो हुनबाट जोगाउँछ । टाउकोमा तेल हालिसकेपछि एकछिन घाममा बस्नुपर्छ भन्ने पनि मान्यता छ ।

बिहे भइसकेका छोरीहरू पनि आजको दिन आमाको हातबाट तेल राख्न माइती आउने गर्छन् । विवाहित छोरीबाट कुनै सन्तान जन्मिएको छैन भने श्रीमानको घरमा घिउ चाकु खानु हुँदैन भन्ने मान्यता छ । त्यसैले सन्तान नजन्मेसम्म छोरीहरू माइती नै आएर घिउ चाकु खाने गर्छन् ।

घरमा विवाहित छोरीचेलीहरू पनि आउने भएकोले आजको दिन भोजमा जस्तै स्वादिष्ट परिकारहरू पकाएर ख्वाउने चलन पनि रहेको छ ।

आजको दिन विभिन्न नदीको दोभान वा त्रिवेणीहरूमा विशेष मेला लाग्दछ भने भक्तपुरमा सम्यक महादान सम्पन्न गरिन्छ ।