ओलीसँगै प्रचण्ड बालकोटको बार्दलीमा, करीब ३ घण्टादेखि के–के विषयमा केन्द्रित छ छलफल ?
भक्तपुर, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँग शनिवार छलफल गर्नुभयो । छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले समेत आफूलाई विश्वासको मत दिएको भन्दै सभामुख र राष्ट्रपति छनोटमा ऊसँग पनि छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
केही हप्ता अघि बालकोटको बार्दलीबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग हात हल्लाउँदै पाँच वर्षसम्म सहकार्य गर्ने सन्देश दिनुभएका प्रचण्डको शनिवारको अभिव्यक्तिपछि एमाले केही झस्किएको छ । त्यसो त विश्वासको मत लिने अघिल्लो दिन कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उहाँको निवासमै प्रचण्ड पुगेको घटनालाई समेत त्यति सकारात्मक रुपमा नलिएको एमालेले प्रचण्डका पछिल्ला अभिव्यक्तिमा पनि केही आशंका व्यक्त गरेको छ ।
त्यहि आशंकाका विच मंगलबार सभामुखको निर्वाचन तालिका सार्वजनिक हुँदैछ । एमाले, माओवादीसहित गठबन्धनमा सहभागी दलहरुको सहमति अनुसार प्रचण्डले साढे दुई वर्ष प्रधानमन्त्री खानु हुनेछ भने त्यसपछि प्रधानमन्त्री एमालेबाट चुनिने छ । समामुख पहिलो आधा कार्यकाल एमाले र त्यसपछि माओवादीले पाउने पनि सहमति भएको छ । राष्ट्रपति भने एमालेको भागमा परेको छ ।
यस्तो अवस्थामा नेपाली कांग्रेसले राजनीतिक अस्थिरताको विजारोपण गर्दै प्रचण्डलाई विश्वासको मत दिएर वार्गेनिङ सुरु गरेको छ । विश्वासको मत दिएसँगै कांग्रेसका युवाहरुले त्यसको विरोध गरेका छन् भने रामचन्द्र पौडेललगायतले राष्ट्रपति पदको जिजीविषामा दौडधुप बढाएका छन् ।
माओवादी भित्र पनि जनार्दशन शर्मालगाएतका नेता अहिलेको गठबन्धनलाई सकेसम्म भत्काउन पाए स्वार्थ केन्द्रित राजनीतिमा खेल्ने सकिने दाउमा छन् । यहि घनचक्करमा ढुलमुले चरित्रका प्रचण्ड पनि विश्वासको मतको भारीले थिचिएर गोलचक्करमा पर्नुभएको छ । स्वार्थ केन्द्रित राजनीतिमा जस्तो सुकै निर्णय गर्न खप्पिस प्रचण्डको पछिल्लो समय बालकोट यात्रा बाक्लो बन्न थालेको छ । केही दिन अघि मात्रै दलबलसहित गोरखा पुग्नु भएका प्रचण्ड साँझपख बालकोट पुग्नु भएको थियो । त्यसपछि पनि ओली र प्रचण्डबिच भेटघाट बाक्लो हुँदै आएको छ ।
आज फेरि प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न बालकोट निवास पुग्नु भएको छ । १० बजेतिर बालकोट पुग्नु भएका प्रचण्ड यो समाचार तयार पार्दासम्म पनि बालकोटमै हुनुहुन्थ्यो । केही घण्टा अघि ओलीको सचिवालय सार्वजनिक गरेको एक तस्बिरमा दुबै नेता बालकोटको बार्दलीमा प्रशन्न चेहरामा देखिनु भएको छ ।
प्रचण्ड कोट–पाइन्ट र ओली ज्याकेटसहित प्लास्टिकको कुर्सीमा बसको तस्बिर उहाँहरुको हाउभाउ हेर्दा पनि उहाँहरु सकारात्मक छलफलमा हुनुहुन्छ भन्ने अनुमान गर्न सकिन्छ । करीब तीन घण्टाको भेटघाट मुख्य गरेर माघ ५ मा हुने सभामुखको निर्वाचन, मन्त्रीमण्डल विस्तार, राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा केन्द्रित भएको उहाँको सचिवालयले जानकारी दिएको छ । ओलीको सचिवालयले पनि सकारात्मक छलफल भैरहेकै जानकारी दिएको छ । प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक बोलाएकाले पनि यस अघि नै भएको यो छलफललाई निकै गहन रुपमा हेरिएको छ ।