सभामुखमा घिमिरे निर्वाचित, यस्तो छ उहाँको राजनीतिक उतार–चडावको इतिहास

काठमाडौं, ५ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य देवराज घिमिरेले संसदीय निर्वाचन जितेको पहिलो पटक नै सभामुखको जिम्मेवारीमा पुग्ने भाग्यमानी नेता बन्नुभएको छ । उहाँ एमाले नेतृत्वको गठबन्धनको तर्फबाट सभामुखमा निर्वाचित हुनुभएको छ ।

उहाँको पक्षमा १६७ मत परेको छ । पार्टीमा लामो योगदान भए पनि उहाँको विगतको राजनीति सफल बन्न सकेको थिएन। पार्टीमा उहाँ इमान्दार मात्रै होइन पुराना कार्यकर्ता पनि हुनुहुन्छ । यद्यपि, बहुदलपछिका ६ वटा निर्वाचनमा उहाँ पटक–पटक सांसद पदको टिकटबाट बञ्चित हुँदै आउनुभयो । यो पटक उहाँले झापा २ बाट टिकट पाउनुभयो र विजयी हुनुभयो । उहाँ विजयी मात्रै हुनुभएन । सभामुखको जिम्मेवारीमा समेत आसिन हुने दुर्लभ अवसर पनि प्राप्त गर्नुभयो ।

२०२९ सालमा झापाको सुखानीमा पाँचजना नेताको हत्या भएपछि तत्कालिन झापा नेकपा कोअर्डिनेसन केन्द्रसँग नजिक भएका घिमिरले २०३५ साल देखि नेकपा मालेमा आवद्ध हुनुभएको हो । घिमिरेले २०३५ सालमा ताप्लेजुङ र पाँचथरको संगठकको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । २०४९ सालमा भएको नेकपा एमालेको पाँचौं महाधिवेशनबाट घिमिरे पार्टी केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।

पाँचौ महाधिवेशनमा नै केन्द्रीय सदस्य हुनुभएका उहाँलाई सांसद बन्दै सभामुख हुने अवसर प्राप्त गर्न भने दसौँ महाधिवेशनसम्म कुर्नु पर्यो । उहाँ २०५६ सालमा ६ वर्षे कार्यकालसहित राष्ट्रियसभामा पूर्वाञ्चलबाट निर्वाचित त हुनु भयो तर २०५९ मा राजा ज्ञानेन्द्रको कु पछि राष्ट्रियसभा अस्तित्वमा रहेन । २०४८ सालमा पार्टीका महासचिव मदन भण्डारीले इलामको क्षेत्र नं २ बाट निर्वाचन लड्न उहाँलाई प्रस्ताव गर्नुभयो ।

तर, घिमिरेले यो प्रस्तावलाई तर्कसहित अस्विकार गर्नुभयो । २०५१ सालको मध्यावधी निर्वाचनका बेला झापामा सिपी मैनालीको गुट बलियो थियो । घिमिरेले केपी शर्मा ओलीलाई साथ दिएको भएर उम्मेद्वारका लागि उहाँको नामै उच्चारण भएन । उहाँ ०५६ का निर्वाचनमा पनि छुट्नुभयो ।

ओली निकट मानिने घिमिरेलाई २०५६ २०६४ को विषम परिस्थितीमा घिमिरेको भूगोलको जिम्मेवारी खोसेर माधव नेपालले काठमाडौंमा केन्द्रीत गराउनुभयो । २०६४ सालको संविधानसभा निर्वाचनमा पनि घिमिरे ओली निकट भएकाले बञ्चित हुनुभयो । २०६५ सालमा पार्टीको आठौं महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष हुनुभयो । तर घिमिरेको माधव नेपालसँग भन्दा चर्को अन्तरविरोध खनालसँग थियो । त्यसैले २०७० को संविधानसभा निर्वाचनमा खनालसँग उहाँले टिकटको प्रस्तावै राख्नु भएन । उहाँ त्यहिकारण ०७० को संविधानसभा निर्वाचनमा पनि छुट्नुभयो ।

२०७१ सालमा भएको नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष हुँदा घिमिरे पनि केन्द्रीय सदस्य नै चुनिनु भयो । त्यसपछि उहाँलाई अध्यक्षको सचिवालयको जिम्मेवारी दिइयो । २०७४ को संघीय निर्वाचनमा पनि घिमिरे टिकटबाट बञ्चित नै हुनुभयो । तर समानुपातिक सुचीको चौथो नम्बरमा उहाँको नाम राखियो ।

२०७९ सालको निर्वाचनमा पार्टीमा ठूलो आन्तरिक प्रतिष्पर्धाका बीच घिमिरेलाई टिकट दिइयो । उहाँले शानदार ढंगले निर्वाचन जितेर सुरु गरेको संसदीय यात्रा दुई महिना नपुग्दै सम्माननीय सभामुखको कुर्सीमा पुगेको छ ।