धरानकाे सार्वजनिक अतिक्रमित संरचनामा चल्याे हर्ककाे डोजर

माेरङ, ८ माघ । धरानको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर बनाएकाे संरचनामा धरान उपमहानगरले आइतबार डोजर लगाएर भत्काएको छ।

स्थानीय मुना चौधरी लिम्बूले अतिक्रमण गरेर बनाएकाे घर उपमहानगरले भत्काएको हो।

उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले जनाएको छ।

उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन।

घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए। उपमहानगरले निर्णय गरेर घर भत्काएको जनाएको छ।