रवि लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भयो : महासचिव शंकर पोखरेल

काठमाडौं, १५ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भएको दाबी गर्नुभएको छ । तर अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नले राजनीतिक मिसन नबिथोलिने उहाँको दाबी छ ।

पीआर लिएर विदेशमा बसेकाहरु फर्केर आउँदा स्वतः नेपाली भएको भन्दै  उहाँले प्रश्न गर्नुभयो । ‘पीआर लिएका व्यक्तिहरुले पीआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ? कसैले प्रश्न उठाएको छ र ?’

महासचिव पोखरेलले रविको हकमा मात्र यसलाई उछालिएको उहाँको धारणा छ । । ‘यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन’, ‘किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन ।’ उहाँले भन्नुभयो ।

उहाँले रविको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी पनि गर्नुभयो । । अदालतमा कतिपय मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने पोख्रेलले बताउनु भयो ।

एमाले महासचिव पोखरेलले भन्नुभयो ,‘रवि लामिछानेजीका सन्दर्भका बारेमा मुद्दा दर्ता गर्ने पक्षको नियत पनि बुझ्न सकिन्छ । न्यायिक सक्रियता पनि चमत्कारिक छ ।’

सर्वोच्च अदालतले शुक्रबार रविले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको ठहर गर्दै उनको सांसद पद खारेज गरेको थियो । सर्वोच्चको फैसलालाई स्वीकार गर्दै रविले उपप्रधान तथा गृहमन्त्रीबाट रानीनामा दिए भने आइतबार नै जिल्ला अदालत काठमाडौंबाट नेपाली नागरिकता लिइसके ।