लुम्बिनीमा मोरारी बापूको रामकथा वाचनप्रति बौद्धमार्गी असन्तुष्ट

काठमाडौं, २३ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा भोलि माघ २४ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने ‘रामकथा वाचन’ कार्यक्रम लुम्बिनी परिसर भित्र सञ्चालन नगर्न बौद्धमार्गीहरूले अनुरोध गरेको छ ।

भारतका हिन्दू धर्मका गुरु मोरारी बापूद्वारा हिन्दू देवता रामका नाममा कथा वाचन हुने उक्त कार्यक्रम बुद्ध जन्मभूमि लुम्बिनी परिसरमा आयोजना हुनुले बौद्ध समुदायको धार्मिक आस्थामाथि आघात पुग्नुका साथै धार्मिक सहिष्णुता पनि खलल हुनसक्ने भएकोले उक्त कार्यक्रम परिसर बाहिर सञ्चालन गर्न अनुरोध गरिएको हो ।

अखिल नेपाल भिक्षु महासंघले हिजो एक वक्तव्य जारी गरी लुम्बिनी क्षेत्रमा खास गरी लुम्बिनी विकास कोषको क्षेत्राधिकार भित्र पर्ने भूभागलाई बौद्ध धर्म र दर्शनसँग सम्बन्धित गतिविधिमा मात्र सीमित गर्नु वाञ्छनीय भएकोले यस ठाउँमा बौद्ध धर्मभन्दा फरक धार्मिक कार्यक्रम गर्दा नेपालको संविधानले अपेक्षा गरेको धर्म सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पुग्न सक्ने कुरामा सजग रहन अनुरोध गरेको छ ।

महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरद्वारा जारी गरिएको उक्त वक्तव्यमा विगतमा पनि लुम्बिनी परिसरभित्र गर्न लागिएको गैर बौद्ध कार्यक्रम चौतर्फी विरोधका कारण अन्यत्र सारिएको तथ्य पनि स्मरण गरिएको छ ।

यो भन्दा अघि बौद्ध संघसंस्थाहरूको राष्ट्रिय महासंघ धर्मोदय सभाका महासचिव सागरमान वज्राचार्यले पनि एक वक्तव्य जारी गरी लुम्बिनी परिसरभित्र गैर बौद्ध क्रियाकलाप आयोजना नगर्न अनुरोध गर्नुभएको थियो ।

लुम्बिनी परिसर भित्र भारतीय हिन्दू धार्मिक नेताको कार्यक्रम आयोजना गर्नाले लुम्बिनी परिसरको बौद्ध वातावरण प्रभावित हुन सक्ने भएकोले त्यस्तो कार्यक्रम नगराउन पनि वक्तव्यमा अनुरोध गरिएको छ ।

बौद्ध समुदायबाट कार्यक्रमको विरोध हुन थालेपछि लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले एक वक्तव्य जारी गर्दै लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत एक विश्व शान्तिकै प्रतीकस्थल भएकोले त्यहाँ मोरारी बापूको कार्यक्रम आयोजना गर्न अनुमति दिइएको बताउनुभएको छ ।

लुम्बिनी परिसरमा आयोजना हुने मोरारी बापूको यो कार्यक्रममा सहभागी हुन विश्वका एक सयभन्दा बढी मुलुकका अनुयायीहरू लुम्बिनी आउने जानकारी आयोजकले दिएको छ ।

कार्यक्रममा भाग लिन आउने सहभागीहरूका कारण लुम्बिनी क्षेत्रका सबैजसो होटल बुक भएकोले स्थानीय व्यवसायीहरू पनि खुशी भएका छन् । कोरोना महामारीका कारण गत तीन वर्षदेखि सुस्त रहेको व्यवसाय मोरारी बापूको कार्यक्रमले पुनः उठ्न थालेकोमा पनि व्यवसायीहरूले हर्ष प्रकट गरेका छन् ।

तर बौद्ध धर्मका अनुयायीहरूले भने धार्मिक आस्थासँग सम्बन्धित रहेको विषयलाई व्यापार व्यवसायसँग जोडेर हेर्न नहुने विचार व्यक्त गरेको छ । लुम्बिनी क्षेत्र बुद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्मस्थल भएको कारणले यसको महत्व व्यापारिक भन्दा पनि धार्मिक सांस्कृतिक रुपले बढी रहेकोले व्यापार व्यवसाय फस्टाउने नाममा यहाँ बुद्ध धर्ममा आँच पुग्ने क्रियाकलापहरु गर्न नहुने बताइएको छ ।

सामाजिक सञ्जालमा पनि लुम्बिनी परिसरमा बुद्ध धर्मलाई आँच आउने कार्य गर्न नहुने विचार व्यापक रुपमा अभिव्यक्त गरिएको छ । केहीले यसका विरुद्ध आन्दोलन चलाउनु पर्ने र सरकारलाई समेत ज्ञापनपत्र दिई सचेत गराउनुपर्ने बिचार व्यक्त गरेका छन् ।