एकताबाट संगठनात्मक अराजकताको ‘ब्ल्याक होल’मा पसेको पार्टीलाई व्यवस्थित गर्न आवश्यक छः महासचिव पोखरेल

काठमाडौं, २५ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई पूँजीवादतर्फ लैजान नेपाली कांग्रेसको नेतृत्व र समाजवादतर्फ लैजान राज्यसत्तामा एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनु भएको छ ।

नेकपा (एमाले) केन्द्रीय स्कुल विभागद्वारा कार्यकर्ताहरूका लागि सञ्चालित स्कुलमा ‘मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद’ विषयमा प्रशिक्षण दिँदै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । ‘मुुलुकलाई समाजवादतर्फ लैजान नेकपा (एमालें को नेतृत्वमा ध्रूबीकरण अपरिहार्य छ,’ उहाँले भन्नुभयो, ‘मुलुकमा एमाले हुँदैनथ्यो, एमालेको पहलकदमी हुँदैनथ्यो भने २०६२–६३ सालको राजनीतिक परिवर्तन र माओवादीको रूपान्तरण सम्भव हुँदैनथ्यो ।’
समाज बदल्नका लागि नेतृत्वको प्रश्न मुख्य हुने र राज्य सत्तामा नेतृत्वको निरूपण क्रान्तिबाट हुन नसक्दा निर्वाचनबाट यस प्रश्नको निरूपण गर्नुपर्ने हुँदा अहिलेको बर्ग सङ्घर्षको केन्द्रीय प्रश्न निर्वाचन हो भन्ने कुरामा प्रस्ट हुनुपर्ने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले उत्पादक शक्तिको तीब्र विकासबाट समाज बदलिने र छिटो समाजवादमा पुगिने वताउँदै त्यसका लागि शिक्षा, स्वास्थ्य, प्रविधिको पहुँच, पूँजीको उपलब्धता जस्ता विषयले महत्व राख्ने विचार व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले नेपालको संविधानका कारण बहुमत कठिन भएको नभई वैचारिक र नीतिगत विषयमा एउटै मत राख्ने शक्ति विभाजित हुँदा निर्वाचनमा कुनै एक दलको बहुमत प्राप्त हुन नसकेको बताउँदै नीतिगत रूपमा राज्य सत्ताको नेतृत्व गर्न बहुमत जरूरी रहेको र त्यसका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताउनुभयो ।

उहाँले एकताबाट संगठनात्मक अराजकताको ब्ल्याक होलमा पसेको पार्टीलाई व्यवस्थित गर्नु जरूरी रहेको बताउनुभयो । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि जागरणका गीत बुलन्द बनाएको साँस्कृतिक फाँटबाट समाज बदल्ने सवालमा त्यसैगरी काम हुन नसकेको वताउँदै यसबीचमा नेकपा (एमाले) सरकारमा हुँदा धेरै असाधारण काम भएका र ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्ने वताउनुभयो । यस पटकको पार्टी स्कुलमा जनसाँस्कृतिक महासंघका कमरेडहरूको सहभागिता रहेको छ ।

तीन दिने स्कुलमा आज पहिलो दिन उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य तथा स्कुल विभागका उपप्रमुख ईश्वरी रिजाल, केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश भट्टराई, वाई। पी। आचार्य, शिव अधिकारी, टिका ढकाल र रामशरण प्याकुरेलले प्रशिक्षण दिनुहुने छ ।