स्याङ्जाको वालिङबाट बसाइँसराइ गर्ने बढे

स्याङ्जा, २८ माघ । स्याङ्जाको वालिङबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघसम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् ।

वालिङ गरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीका अनुसार वालिङबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या दुई हजार आठ सय ९८ जना रहेकाे छ ।

विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाई सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन् । बसाई सरेर अन्यत्र जानेको तुलनामा अन्यत्रबाट बसाई सरेर आउने पनि छन् ।

बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या बर्सेनि बढ्दोक्रममा रहेको छ । गत वर्ष एक सय १६ घरधुरीका चार सय ३७ जना र २०७९ को हालसम्म दुई सय ९४ घरधुरीका एक हजार एक सय १६ जना बसाई सरी आएका तथ्याङ्क रहेको उहाँले जानकारी दिनुभयो ।

चौध वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुने क्रम बढ्दो छ । केही वडा ग्रामीण र विकट छन् । ग्रामीण भेगका वडाबाट बजारतिर बसाई सर्ने क्रम बढ्दै गएको छ । बजारबाट अझै ठूला सहरमा बसाइँसराइ गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।

यस वर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट एक सय ४३ घरधुरीका पाँच सय ७९, वडा नं १४ बाट एक सय ३६ घरधुरीका चार सय ९९ जना बसाई सरेर गए । यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाई सरे । विसं २०७८ मा वडा नं. १४ का ३८ र १२ का ३६ घरधुरी बसाई सरेर गए । १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाई सरेका उहाँले जानकारी दिनुभयो ।