न्यकू बाजाको रजत महोत्सव

ललितपुर, २९ माघ । हरेक वर्ष गाईजात्राका अवसरमा मनाइने न्यकू जात्रा मतयाः व्यवस्था समितिको रजत जयन्ती सम्पन्न भएको छ । ललितपुरको कात्ति डबलीमा हिजो आयोजित एक समारोह बीच समितिको रजत जयन्ती मनाइएका थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुमन किरातीले देशमा यस्ता सम्पदाहरूको संरक्षण गर्न आवश्यक कतिपय कानूनहरूको अभाव रहेका कारण अब त्यस्ता कानूनहरू धमाधम निर्माण गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा न्यकू जात्रा सञ्चालनका लागि आवश्यक बजेट पनि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जात्रा व्यवस्था समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।

हरेक वर्ष गाईजात्रामा काठमाडौं र भक्तपुरमा मानिसहरू विभिन्न भेष धारण गरी जात्रामा सहभागी हुने गर्दछन्, यसलाई स्थानीय भाषामा ‘सायाः’ भनिन्छ । ललितपुरमा भने ‘सायाः’ निकाल्ने गरिँदैन, यहाँ ‘मतयाः’ निकालिने गरिन्छ । यो मतयाःकै अवसरमा नौबाजा पनि बजाउने गरिन्छ ।

हिजोको कार्यक्रममा पनि नौबाजा बजाई प्रस्तुत गरिएको थियो ।