पार्टी सुदृढीकरणसँगै संगठनलाई थप बलशाली बनाउन ‘मिसन ग्रासरुट’ अभियानः सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

नेकपा (एमाले)ले केही वर्ष अघि मेची–महाकाली अभियान सञ्चालन गरेको थियो । उक्त अभियान निकै प्रभावकारी सावित भएको थियो । त्यो अभियानले एमालेमा एक प्रकारको उर्जा पैदा गरेको थियो । त्यहि नेकपा (एमाले) ले अहिले फेरि ‘मिसन ग्रासरुट’ अभियानसञ्चालन गर्ने भएको छ । दुई महिने यो अभियान पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि निकै प्रभावकारी बन्ने देखिएको छ । भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीले १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गरेपछि शुरु हुने यो अभियानमा सात वटै प्रदेश, ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा एकै पटक पुग्ने छ ।

अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशसहित सबै केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुईमहिनाको जिम्मेवारीसहित खटिने छन् । एमालेले अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरुलाई जिम्मेवारी तोकेको छ । कुन नेता, कुन पालिकामा खटिने प्रष्ट योजनासहितको ६२ पृष्ठको पुस्तिका समेत एमालेले प्रकाशन गरिसकेको छ । उक्त पुस्तिकामा हरेक पालिका र वडा तहसम्मको जनसंख्या, त्यहाँका मतदाता, एमालेले प्राप्त गरेको मत र अभियानपछि बढाउन सकिने मतदाताको संख्यालाई समेत मिहीन ढंगले आँकलन गरिएको छ । यो योजनालाई प्रभावकारी ढंगले सञ्चालन गरेको अवस्थामा एमाले एकै पटक केन्द्रदेखि मतदाताको घरदैलोसम्म पुग्ने पार्टीहरुको पहिलो र प्रभावकारी अभियान हुनेछ । यहि अभियानसँग सम्बन्धित भएर एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग मैत्रीन्युज डटकमले गरेको कुराकानीः

नेकपा (एमाले)ले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्दै छ । यो अभियानबारे प्रष्ट पार्दिनुहोस् न ?

अहिले पार्टीको जे अवस्था छ, पार्टी जस्तो अवस्थाबाट गु्रजिरहेको छ । त्यसलाई सुदृढीकरण गर्दै कसरी संगठन विस्तार गरेर अघि बढ्ने र भएका कमजोरीहरुलाई हटाउने भन्ने विषयसँग केन्द्रित भएर हामीले यो अभियान सञ्चालन गर्न लागेका हौँ ।

कतिपय समस्याहरु अलिक गम्भीर प्रकृतिका पनि छन् । तीनिहरुको पहिचान गरेर त्यसमा सुधार गर्ने वा यसो–यसो गरेर सुधार गर्न सकिन्छ भनेर लिखित सुझाव दिने गरी सबै केन्द्रीय सदस्यहरुलाई बढीमा तीन–चार वटासम्म पालिका हेर्ने गरी जिम्मेवारी दिइएको छ । यो अभियान सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म गाउँमा पठाउने र त्यहाँको समस्याको पहिचान गर्ने अभियान पनि हो । यो अभियान फागुन ५ देखि बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । यहि अभियानका साथ हामीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्न लागेका हौँ ।

भनेपछि अब दुई महिना एमाले जनताको घरदैलोसम्म पुगेर सबै समस्या पहिचान गर्ने अभियानमा सक्रिय हुन्छ होइन त ?

निश्चय पनि, यो अभियानमा पार्टीका बैचारिक कुराहरु, पार्टीका धारणाहरु पार्टीका कार्यकर्ता, समर्थक र सुभेच्छुकहरुलाई दीक्षित गर्ने अभियान पनि हो । उनीहरुलाई सबै भन्दा पहिला पार्टीको बैचारिक मार्गदर्शन, महाधिवेशनका दृष्टिकोणहरुबाट दीक्षित गरिन्छ ।

त्योसँगै पार्टी सुदृढीकरण तथा विस्तार अभियान पनि योसँगै अघि बढाउने हाम्रो अभियान हो । तेस्रो भनेको संगठन सञ्चालनका सिलसिलामा देखा परेका समस्याहरु, चुनावको सन्दर्भमा प्रकट भएका अन्र्तरघात र अनेकखाले समस्याहरुका बारेमा पनि हामी स्थानीय तहसम्म पुगेर पहिचान गर्छौ । चौथो भनेको यो अभियानसँगै कार्यकर्ताहरुको चेतनास्तर, अहिले उनीहरुले बनाएको योजनालगायतका बारेमा पनि हामी तल्लो तहसम्म पुगेर पहिचान गर्ने तयारीमा छौँ ।

पार्टी र संगठनमा जिम्मेवारी लिने तर जिम्मेवारी लिएपछि केही पनि नगर्ने प्रवृत्तिका बारेमा पनि हामी यो अभियानसँगै पहिचान गर्ने प्रयास गर्नेछौँ । यसले पार्टी सुदृढीकरण तथा विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौँ ।

यसको अनुगमन कसरी गर्ने योजना बनाउनु भएको छ ?

केन्द्रले यो अभियानका लागि एउटा पुस्तिका नै तयार पारेको छ । त्यो पुस्तिकामा अभियानका सिलसिलामा को–कहाँ खट्नेदेखि सबै योजना उल्लेख गरिएको छ । त्योसँगै पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ । अभियान सञ्चालन अघि फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ ।

त्यो अभियान सञ्चालनपछि त्यहाँ जिम्मेवारी पाएका नेताले ‘ग्रासरुट’मा हाम्रा कार्यकर्ताको बैचारिकस्तर कुन खालको छ ? हाम्रो संगठनात्मक अवस्था कस्तो छ ? गठनहरु कसरी चलायमान भएका छन् ? हाम्रा कार्यकर्ताले जिम्मेवारी बहन कुन ढंगले गरेका छन् ? गएका निर्वाचनमा पार्टीका सदस्यहरु कसरी सञ्चालिन भए ? कतिपय ठाउँमा उनीहरु सक्रिय भएनन् ? उनीहरुले कुन तहसम्मको अन्र्तरघात गरे ? यी सबैलाई अभियानका दौरानमा दैनिक टिपोट गरेर ल्याएर लिखित रुपमा केन्द्रमा बुझाउने तयारी छ । त्यो पछि पार्टीले ती सबै विषयमा बसेर छलफल गरी पार्टीलाई थप शक्तिशाली बनाउँदै अघि बढाउने योजनाका साथ यो अभियान सञ्चालन गरिएको हो ।

निर्वाचनको समयमा भएका घात–अन्र्तरघातका कारण एमालेले धेरै ठाउँमा पराजय भोग्नु परेको तितो यथार्थ छ । यो अभियानले त्यसको पछि पहिचान गर्दै आगामी दिनमा पार्टीलाई थप शक्तिशाली बनाउँदै अघि बढ्ने अपेक्षा गर्न सकिन्छ ?

हामीले यो अभियान सञ्चालन गरेको नै त्यसैका लागि हो । राम्रो कुराहरुलाई आत्मसाथ गर्दै खराब कुराहरुको बारेमा समीक्षा गर्नूपर्छ भन्नेमा छौँ । हाम्रो परम्परा के थियो र अब कस्तो हुनुपर्छ भन्ने विषयमा पनि यो अभियान प्रभावकारी हुने अपेक्षा गरेका छौँ । त्योसँगै व्यक्तिमा बढिरहेका अराजकता, पार्टीको दृष्टिकोण भन्दा बाहिर हिँडिरहेको अवस्था जस्ता कुरालाई पनि हामी यो अभियानमा निर्ममता पूर्वक समीक्षा गर्ने तयारीमा छौँ । यो अभियान विगतमा गरेका कमजोरीको समीक्षा गर्दै आगामी दिनमा सुधार गरेर जानका लागि बनाएको व्यवस्थित योजना पनि हो । यो अभियानमा हामीले सबै भन्दा बढी सुझावको अपेक्षा पनि गरेका छौँ ।

हामीले यो अभियानलाई थप व्यवस्थित बनाउन केन्द्रीय सदस्यलाई ‘ग्रासरुट’मा खटाउने त्यो भन्दा माथि सचिवहरुले सात वटै प्रदेशको कमाण्ड सम्हाल्ने र उपाध्यक्ष तहबाट अनुगमन गर्ने गरी योजना बनाएका छौँ । यो भनेको अभियान प्रभावकारी भयो भएन भन्ने कुराको विभिन्न तहमा एकअर्काको चेक गर्ने पनि हो । योसँगै कमजोरी भएका ठाउँमा निर्देशन दिने काम पनि हुन्छ । यसो हुँदा गफ बढी हुने र काम नहुने परम्पराको पनि अन्त्य हुने छ र अभियान थप प्रभावकारी बन्ने छ भन्ने अपेक्षा गरेका छौँ । हामीले अभियानलाई प्रभावकारी बनाउन अभियानको जिम्मेवारी लिने अनि सक्रिय नहुनेलाई कारवाही गर्नेसम्मको योजना बनाएका छौँ । यो अभियान सबैलाई जिम्मेवार बनाउने अभियान पनि हो । यसले पार्टीमा नयाँ शक्ति र उर्जा पैदा हुने पनि हामीले अपेक्षा गरेका छौँ ।

भनेपछि आगामी निर्वाचनमा एमालेलाई थप शक्तिशाली र प्रभावकारी बनाउने पनि यो अभियान प्रभावकारी बन्ने अपेक्षा गर्न सकिन्छ ?

हो, एमाले भन्ने पार्टी सदस्य पनि हुने अनि पार्टी नेतृत्वको निर्देशन पालना नगर्ने अनि निर्वाचनका बेला मत अरुतिर नै हाल्ने व्यक्ति एमाले हुन सक्दैन । हामीले यो अभियान पार्टीको सदस्य हो होइन भन्ने कुराको निक्र्यौल गर्नका लागि पनि सञ्चालन गरेका हौँ । पार्टीको उदेश्य विपरीत काम गर्ने मान्छे पार्टीको सदस्य हुन सक्दैन । यो अभियान त्यस्ता प्रवृत्तिका विरुद्ध निर्मम बन्ने अभियान पनि हो । पार्टीको सदस्य छ, भोट अरुतिर हाल्छ ।

अनि त्यो सदस्यलाई समेत गणना गरेर पार्टी ठूलो छ भन्नु एक प्रकारको आत्मरति मात्रै हुन्छ । भोट नहाल्ने होइन, असहयोग पनि गर्छ । असहयोग मात्रै होइन भोट हाल्ने अनुशासित कार्यकर्तालाई पनि ऊ भड्काउन दिलोज्यान दिएर लाग्छ । त्यस्तो कार्यकर्तालाई पार्टीमा राखिराख्नु भनेको कुहिएको आलु राखेर थप कुहाउनु जस्तै हो । यो अभियान यस्ता कार्यकर्ता छान्ने अभियान पनि हो ।

अन्त्यमा, केही भन्नु छ ?

यो अभियानलाई सफलतामा टुंङ्गोमा पुर्याउन सबै लागौैँ । पार्टीको सबै तहका नेता–कार्यकर्ताहरु यो अभियानमा दत्तचित्त भएर लागौँ । यो हामी सबैको अभियान हो । नेकपा (एमाले)लाई मुलुकको मुख्य राजनीतिक शक्ति बनाउने संकल्प बोकेर हिँड्ने सबैको यो साझा अभियान पनि हो । यो अभियान एमालेलाई नै बलशाली, शक्तिशाली बनाउने अभियान भएकाले समर्थक र सुभेच्छुकहरुलाई पनि लाग्न आग्रह गर्दछु ।