मातृभाषामा आधारित बहुभाषिक शिक्षा प्रदान गर्न युनेस्कोको जोड

काठमाडौं, ९ माघ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ का रुपमा मनाउँदै आइरहेको छ ।

हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा युनेस्कोले एउटा नारा दिने गर्दछ । यो वर्षको दिवसका लागि ‘शैक्षिक रुपान्तरणका लागि बहुभाषी शिक्षा’ भन्ने नारा दिएको छ ।

यो नारा अन्तर्गत युनेस्कोले विश्वभरि नै बहुभाषी शिक्षा प्रवद्र्धनका लागि सम्पूर्ण सरकारहरूलाई आग्रह गरेको छ । युनेस्कोले मातृभाषामा आधारित बहुभाषी शिक्षाले बालबालिकाहरूको पढाइ र बुझाइलाई सहज बनाउनुका साथै उनीहरुको शैक्षिकस्तरलाई पनि उकास्न सहयोग गर्ने बताएको छ ।

युनेस्कोका प्रमुख एण्ड्रिउ एजाउलेले यस सन्दर्भमा एक अपिल जारी गर्दै बहुभाषी शिक्षाले बालबालिकाको शैक्षिक स्तरलाई उकास्ने धेरै प्रमाणहरू समेत रहेको दावी गर्नुभएको छ ।

अनुसन्धानहरुले स्कुलमा आफ्नो घरमा बोलिने मातृभाषाबाट पढाइ हुने विद्यालयका विद्यार्थीहरूले मातृभाषामा पढाइ नहुने विद्यालयका विद्यार्थीहरूले भन्दा ३० प्रतिशत छिट्टै पढ्न र बुझ्न सकिने देखाएको छ ।

मातृभाषाको पढाइले विद्यार्थीहरुलाई सामाजिक सीपहरु सिकाउन पनि उतिकै सहयोग गरेको देखिएको छ ।

कुनै भाषा लोप भएमा एउटा भाषा मात्र होइन त्योसँग सम्बन्धित ज्ञान, सीप व संस्कृति समेत लोप हुने युनेस्कोको भनाइ छ ।

मातृभाषा दिवसको इतिहासः

युनेस्कोले सन् १९९९ देखि फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउन थालेको हो । भारतबाट छुट्टिएर गएको पाकिस्तानले बंगाली बहुल पूर्वी पाकिस्तानमा उर्दू भाषा लादेपछि त्यसको विरोधमा स्थानीय बंगाली भाषीहरूले विद्रोह गरे ।

त्यसक्रममा ढाका विश्वविद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीहरूलाई गोली हानी मारिए । त्यसपछि आन्दोलन झनै चर्कियो र सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश नामक नयाँ देश अस्तित्वमा आयो । भाषिक अधिकार प्राप्तीका लागि भएको आन्दोलनमा गोली थापेका ती नै शहीदहरूको स्मृतिमा हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाउन थालिएको हो ।

अफ्रिकालाई ध्यान देऊः

राष्ट्र संघले मातृभाषा शिक्षाका लागि यो वर्ष अफ्रिका महादेशलाई ध्यान दिन पनि विश्व समुदायलाई आह्वान गरेको छ । अफ्रिका संसारमै सबैभन्दा बढी भाषिक विविधता भएको महादेश हो । अफ्रिकाका हरेक पाँच मध्ये एक बच्चाले मात्रै आफ्नो मातृभाषामा पढ्न पाउँछन् ।

हालै मोजाम्बिकको २५ प्रतिशत विद्यालयमा बहुभाषिक शिक्षा लागू गरिएको थियो । यसका लागि शिक्षकहरूलाई विशेष तालिम समेत दिई पढाइ शुरु गरियो । यसले त्यहाँ विद्यार्थीहरूको आभारभूत पढाइ र गणितको शैक्षिक गुणस्तर १५ प्रतिशतले वृद्धि भएको पाइयो ।

अफ्रिकामा गत केही दशकदेखि भाषाप्रतिको आकर्षण बढ्दै गइरहेको देखिन्छ । अर्को अफ्रिकी राष्ट्र घानामा स्वतन्त्रता प्राप्तिपछि सन् १९५७ मा बनाइएको संविधानमा अंग्रेजीलाई सम्पर्क भाषा भनी तोकिएको थियो । तर सन् १९९२ मा बनाइएको नयाँ संविधानमा अंग्रेजी भाषाको ठाउँमा घानाका विभिन्न भाषाहरुलाई विकास गर्ने र घानाको संस्कृतिप्रति गौरव गर्ने’ भनी उल्लेख गरिएको छ ।

युनेस्कोका अनुसार संसारमा भएका ६७०० वटा भाषाहरू मध्ये ४० प्रतिशत भाषाको पहुँच शिक्षामा पुगेको छैन । शिक्षामा पहुँच नपुगेका भाषाहरू लोप हुने सम्भावना बढी छ ।

भाषाहरूलाई लोप हुनबाट बचाउन युनेस्कोले सन् २०२२ देखि २०३२ सम्म मातृभाषा दशकका रूपमा मनाउने घोषणा पनि गरिसकेको छ ।

नेपालको अवस्थाः

नेपाल पनि एक बहुभाषिक मुलुक हो । तर नेपालको शिक्षामा बहुभाषाको प्रयोग घट्दो क्रममा छ । नेपालमा भाषालाई शिक्षाको माध्यम होइन कि एक छुट्टै विषयका रुपमा मात्रै पढाउने गरिन्छ ।

गत दुई वर्ष अघि काठमाडौं महानगरपालिकाले महानगर भित्रका सबै विद्यालयहरूमा स्थानीय नेपालभाषा (नेवार भाषा) मा स्थानीय विषय पढाउने व्यवस्था गरेको थियो । त्यसैलाई अनुशरण गरी ललितपुर, कीर्तिपुर, टोखाका स्थानीय सरकारहरूले पनि नेपालभाषामा स्थानीय विषय पढाउन शुरु गरिएको छ ।

त्यस्तै नुवाकोट र काभ्रेका केही विद्यालयहरूमा तामाङ भाषा, दाङमा थारु भाषा, तराई मधेशमा मैथिली आदि भाषामा पढाइ शुरु गरिएको छ ।

भाषा आयोगले पनि विभिन्न प्रदेशमा सो ठाउँमा अधिक संख्यामा रहेको भाषाहरूलाई नेपालका अतिरिक्त थप सम्पर्क भाषाको रुपमा मान्यता दिने त्यहाँका अन्य समुदायलाई मातृभाषामा शिक्षा दिने व्यवस्थाको लागि सरकारलाई सिफारिस गरिसकेको छ ।

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले पनि एक कार्यक्रम आयोजना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *