व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन सकेनः सभामुख घिमिरे

काठमाडौं, १७ फागुन । सभामुख देवराज घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको बताउनु भएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताउनु भएको हो । उहाँले समृद्धि र विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सञ्चारसँग सम्बन्धित कानून निर्माणमा पत्रकारसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सञ्चारसँग सम्बन्धित कानून निर्माणमा प्रेस तथा प्रेससँग सम्बन्धित संघ संस्थासँग छलफल गर्ने बताउनुभयो ।नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार विधेयक निर्माणमा विगतमा आफूहरुसँग छलफल नगरेको बताएपछि सभामुखले सरोकारवालासँग छलफल गर्ने बताउनुभएको हो ।

‘आगामी दिनमा सञ्चारसँग सम्बन्धित ऐन निर्माण गर्दा तपाईंहरुसँग छलफल हुन्छन्,’ उहाँले भन्नुभयो, ‘नेपाली सञ्चार माध्यमको व्यवसायिकीकरणमा सभामुखको तर्फबाट मेरो साथ सहयोग रहन्छ ।’

सभामुख घिमिरेले नेपाली सञ्चार माध्यममा खोजी रिर्पोटिङको अभाव रहेको बताउँदै सञ्चार क्षेत्रमा हुने गरेका गलत क्रियाकलाप निरुत्साहित गर्न स्वयं पत्रकारहरुको भूमिकाले निर्धारण गर्ने धारणा राख्नुभयो ।

सभामुख घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको बताउँदै समृद्धि र विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, लगायतले प्रेसमैत्री कानून निर्माणका लागि नेपालको जनप्रतिनिधिको थलो संसदले सकारात्मक भूमिका खेल्ने अपेक्षा राख्नुभयो । कार्यक्रम अध्यक्ष टंक पन्तको सभापतित्वमा सम्पन्न भएको थियो । 

कार्यक्रममा इन्जाले हरेक वर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरकर्मी मातृका दाहाल र आईएनएस डट कमकी तारा वाग्लेलाई प्रदान गरेको छ ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले दाहाल र वाग्लेसहित इन्जा बौद्धिक पत्रकारिता पुरस्कार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्नुभयो । इन्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र १०७ सिरहा र सरिता चलाउनेले पाउनु भयो । त्यस्तै फोटो पत्रकारिता पुरस्कारबाट नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठले पाउनुभयो ।

यसैगरी वरिष्ठ पत्रकारहरू रघु मैनाली‚ किरण वैद्य‚ कुमार यात्रु‚ जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा‚ शंकर भट्टराई, विजया साह र प्रदीप गुरुङलाई सभामुख घिमिरेले इन्जा सम्मान प्रदान गर्नुभयो ।