पूर्व भैरव रुजन शाक्यको चुडाकर्म

काठमाडौं, १९ फागुन । इन्द्रजात्रामा रथयात्रा चलाइने श्री पूर्व भैरव रुजन शाक्यको चुडाकर्म सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २४ स्थित केशचन्द्र कृत पारावत महाविहार (इतुम्बहाल) मा हिजो विधिपूर्वक उहाँको चुडाकर्म गरिएको हो । उहाँ सोही महाविहारको शाक्य सर्वसंघका कुलपुत्र हुनुहुन्छ ।

हरेक वर्ष इन्द्रजात्रा ताका चलाइने श्री कुमारीको रथयात्रामा जीवित देवताहरु श्री गणेश र श्री भैरवको पनि रथयात्रा चलाइने परम्परा छ । वि.सं. २०६६ देखि २०७७ सम्म श्री भैरवको आसनमा रुजन शाक्य बस्नुभएको थियो ।

देवताको आसनबाट ओर्लिसके पछि उहाँहरूलाई गरिने पहिलो सामाजिक संस्कार नै चुडाकर्म हो ।

शाक्य कुलपुत्रहरूमा सामान्यतया ३–४ वर्षदेखि ११–१२ वर्षको उमेरसम्ममा चुडाकर्म गरिसक्ने परम्परा छ । तर सो उमेरमा रुजन शाक्य श्री भैरवको आसनमा विराजमान हुनुभएकोले उहाँको चुडाकर्म गरिएको थिएन । त्यसैले हिजो सम्पन्न गरिएको चुडाकर्म संस्कारमा सहभागी ४० जना कुलपुत्रहरू मध्ये सबैभन्दा जेठो उहाँ नै हुनुहुन्थ्यो ।

उक्त चुडाकर्म (प्रव्रज्याभिषेक) संस्कार उहाँलाई अग्रस्थानमा राखी उहाँकै नेतृत्वमा सम्पन्न गरिएको थियो ।

नेवाः समुदायका शाक्य, वज्राचार्य र बुद्धाचार्य समाजमा चुडाकर्म गरिसकेपछि मात्रै बालकलाई सम्बद्ध विहारको सदस्यका रूपमा ग्रहण गरिने परम्परा रहँदै आएको छ । यो कार्य गरिँदा विहारको प्रमुख देवता (क्वाःपाःद्यः) को सामुन्न राखी बालकको चुडा अर्थात टुप्पी छेडन गरिन्छ । यो मूलतः बालकलाई टुप्पी छेडन गरी विहारको पूर्ण सदस्यका रूपमा भित्र्याउन गरिने संस्कार हो ।

हिजो इतुम्बहालमा भएको उक्त चुडाकर्म कार्य विशुद्ध शाकाहारी रूपमा सम्पन्न गरिएको थियो ।

संयोगवस सोही समारोहमा पूर्व कुमारी रश्मिला शाक्यका पुत्रको पनि चुडाकर्म गरिएको थियो । रश्मिला शाक्य वि.सं. २०४१ देखि २०४८ सम्म श्री कुमारीका रूपमा बसन्तपुरको कुमारी घरस्थित कुमारीको आसनमा विराजमान रहनुभएको थियो ।