मानवताविरुद्धको अपराधले प्रचण्डलाई कायर बनायो, त्यसैले उनमा देशको पक्षमा बोल्ने सामर्थ्य छैनः महासचिव पोखरेल (भिडियोसहित)

काठमाडौं, २१ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माथिल्लो मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने सरकारको सहमति मुलुकको वरवादीको अर्को सङ्केत भएको भन्दै कडा आलोचना गर्नुभएको छ ।

स्वर्गीय यदुकुमार गौतमको २४ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । मानव बस्ती नै नभएको ठाउँमा विश्व विद्यालय बनाउनु गलत नियत निहित रहेको उहाँको टिप्पणी छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि शनिवार पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै मुस्ताङमा विश्वविद्यालय बनाउने कुरा राष्ट्रिय हितविरोधी काम भएको वताउनुभएको थियो ।

उहाँले नेपालमा रहेको युरेनियममा विदेशीले आँखा लगाइरहेको वताउँदै मुस्ताङमा विश्वविद्यालय बहुतै खतरनाक कुरा हो भन्नुभएको थियो । महासचिव पोखरेलले पनि उक्त कार्यको कडा आलोचना गर्नुले सरकार पछिल्लो समय विदेशी खुशी पार्ने ध्याउन्नमा दत्तचित्त भएको प्रमाणित गर्छ ।

स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले उग्रवामपन्थी अतिवादले मुलुकको समस्या समाधान नगर्ने हुनाले शान्ति प्रक्रिया र आर्थिक समृद्धि नै मुलुकको निकास भएको बताउनुभएको पनि बताउनुभयो ।

 

 

उहाँले हिंसा र विद्रोहको बाटोबाट कहीँ पुग्न नसकिने दाबी पनि गर्नुभयो । ‘यदु गौतमले तत्कालीन समयमा उठाएको माग र लिएको बाटो नै आखिरमा सही पुष्टि भएको छ । हिंसा र विद्रोहको बाटोबाट कहीँ पुग्न सकिँदैन । तत्कालीन विद्रोही शक्ति शान्ति प्रक्रियामा आएपछि उहाँले लिएको बाटो सही थियो भन्ने पुष्टि भयो ।’

विनाकारण निर्ममतापूर्वक माओवादीले गौतमको हत्या गरेको भए पनि माओवादी नेतृत्वले अहिलेसम्म पश्चात्ताप नगर्नु विडम्बनापूर्ण रहेको उहाँको भनाई थियो ।
महासचिव पोखरेलले माओवादीमा अझै उग्र वामपन्थी अतिवाद कायमै रहेको त्यसले सङ्केत गर्ने बताउनुभयो ।

करीब २२ मिनेट सम्वोधन गर्नुभएका पोखरेलले पाँच दलीय गठबन्धनलाई जनताले अस्वीकार गरेपछि मुलुक बचाउन एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाध्य भएको दृष्टान्त बताउनुभयो । जसकाविरुद्ध माओवादी जनयुद्ध गरेर हिँडेको थियो उसैलाई राष्ट्रपति बनाउन गठबन्धन भत्काएर हिँडेको दाबी गर्नुभयो । ‘माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको छ,’ उहाँले भन्नुभयो ।

प्रचण्डले विगतमा मानवताविरूद्धको अपराध गरेका कारण देश र जनताको पक्षमा उभिनै नसक्ने गरी कायरता प्रर्दशन गर्न पुग्नु परेको उहाँको तर्क थियो । ‘एउटा क्रान्तिकारी, जसले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवादविरुद्धको नेतृत्व गर्‍यो । आज मुलुकको बारेमा फैसला गर्नुपर्दा चाँही उभिन सक्ने अवस्थामा छैन। मानवताविरुद्धको अपराधका कारणले गर्दा ऊ यति कायर बनेको छ कि ऊ देशको पक्षमा उभिन सक्दैन। तर शक्ति संघर्षमा वडा चलाखीका साथ नेतृत्व प्राप्त गरेको छ’, उहाँले भन्नुभयो, ‘यसले देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन। किनकी विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ।’