आज गुरुमापालाई चौरासी व्यञ्जन

किलागल टोलमा गुरुमापाको खाना बनाइँदै

काठमाडौं, २२ फागुन । आज फागू पूर्णिमा । आजका दिन रंग र पानी लगाएर होली खेल्ने गरिन्छ । तर काठमाडौंमा भने आज होली मात्रै खेलिँदैन । गुरुमापालाई चौरासी व्यञ्जन राखेर खुवाउने एक विशिष्ट पर्व पनि मनाइँदैछ ।

काठमाडौंको किलागल टोलबाट मनाइने यो पर्वका क्रममा टुँडिखेलमा गुरुमापा राक्षसलाई चौरासी व्यञ्जन राखेर भोज खुवाउने गरिन्छ । यसमा १२ पाथी चामलको भात र एउटा सिङ्गो राँगोको मासु पकाउनु पर्दछ । यी व्यञ्जनहरू आज राति टुँडिखेलमा लगेर गुरुमापालाई खुवाउने गरिन्छ ।

गुरुमापालाई खुवाउनका लागि काठमाडौंको किलागल टोलमा अहिले व्यञ्जन पकाउने काम भइरहेको छ । स्थानीय किलागः त्वाः खलःले यो काम गर्दछ । मासुको लागि ल्याइएको राँगो हिजो राति नै स्थानीय त्यापाद्वः नामक स्थानमा विधिवत रुपमा पूजा गरी काटिइसकेको छ ।

अहिले किलागल टोलमा त्यही राँगोको मासुको विभिन्न परिकार बनाउने काम चलिरहेको छ । किलागः त्वाः खलःका सदस्य मचाराजा महर्जनका अनुसार आज राति १० बजेसम्ममा यी परिकारहरू पकाउने काम सकिनेछ । त्यसपछि राति नै सबै खानेकुरा बोकेर टुँडिखेल जानु पर्दछ ।

महर्जनका अनुसार किलागल टोलदेखि टुँडिखेलसम्म यी खानेकुराहरू बोकेर लाँदा बीच बाटोमा कहीं पनि बिसाउनु हुँदैन । किलागल टोलमा जसले यो भारी बोक्छ, उसले कमसेकम न्यूरोड गेट सँगैको गणेश मन्दिरसम्म एक्लै बोकेर लानु पर्दछ । पालो फेर्न पनि मिल्दैन । त्यसैले किलागल टोलमा यो भारी बोकाउँदा पनि बोक्न सक्ने मान्छे हो कि होइन परीक्षण गरेर मात्रै बोक्न दिने गरिन्छ ।

त्यो परीक्षण गर्ने पनि आफ्नै तरिका छ । बोक्छु भनेर आउने गुठियारलाई दुईतिर राखिएको भात र मासुको भारी बोकाएर पहिले सात पाइला अघि र सात पाइला पछि हिँडाइन्छ । यदि उनी ढलपल नगरी सिधा हिँड्न सक्यो भने उसैलाई टुँडिखेलसम्म बोकाइन्छ । ढलपल गर्यो भने उसको ठाउँमा अरुलाई मौका दिइन्छ ।

यो भारी टुँडिखेलसम्म बाजागाजा समेत बोकेर लगिन्छ । टुँडिखेलको बीचमा पुगे पछि ठूलो टपरीमा राखेर व्यञ्जनहरू चढाइन्छ । अनि त्यही व्यञ्जन प्रसादको रुपमा सँगै गएका गुठियार एवं श्रद्धालुहरूले खाने गर्छन् ।

गुरुमापालाई खुवाइने उक्त भात र मासुको प्रसाद खाएमा पेट सम्बन्धी रोग लाग्दैन भन्ने जनविश्वास रहेको छ ।

गुरुमापा को हुन् ?

काठमाडौंमा गुरुमापा सम्बन्धी एक प्रशिद्ध किंवदन्ती प्रचलित छ । काठमाडौं मनपा २४ वडास्थित इतुम्बहालमा कुनै बेला केशचन्द्र नामक एक ठूला महाजन बस्दथे । उनी अत्यन्तै जुवाडे रहेछन् । जुवामा सबै सम्पत्ति हार्छन् । खानलाई समेत केही हुँदैन ।

एक दिन उनी खाना खानको लागि थँबही (हालको ठमेल) मा रहेकी आफ्नी दिदीको घरमा पुग्छन् । दिदी पनि महाजनकै श्रीमती थिइन् । दिदीले उनलाई सुनको थालमा भात पस्केर खुवाउँछिन् । तर भात खाइसके पछि उनी सुनको थालै बोकेर जान्छन् र फेरि जुवा खेल्छन् । फेरि हार्छन् ।

अर्को दिन फेरि दिदीको घरमा पुग्छन् । यस पटक दिदीले उनलाई चाँदीको थालमा भात खुवाउँछिन् । भात खाइ सकेपछि केशचन्द्र चाँदीको थाल पनि लिएर हिँड्छन् । एवंरितले थालै लिएर हिँड्ने भएपछि एक दिन दिदीले उनलाई भुइँमै भात पस्केर खान दिन्छिन् ।

यो देखेर केशचन्द्र साह्रै दुःखी भई भुइँको भात टिपेर एउटा कपडामा पोका पारी त्यहाँबाट हिँड्छन् । टाढा कुनै एकान्त ठाउँमा पुगेपछि भात खानलाई घाममा सुकाउँछन् । तर त्यहीबेला उनलाई निद्रा लाग्छ । उनी सुतिरहेकै बेला परेवाका एक बथान आएर भात सबै खाइदिन्छन् । केशचन्द्र निद्राबाट ब्युँझेर हेर्दा भात त एक सिता पनि हुँदैन । उनी दुःखी भई रुन्छन् र रुँदारुँदै फेरि निदाउँछन् ।

उनको दुःख देखेर परेवाहरू सबैले हगेर सुनको आछि छोडेर जान्छन् । केशचन्द्रको निद्रा खुल्दा सुनको आछि देखेर दंग पर्छन् । त्यो उनले बोकेर लान पनि सक्दैनन् ।
त्यही बेला त्यहाँ गुरुमापा राक्षस आएर केशचन्द्रलाई खान खोज्छन् । केशचन्द्रले गुुरुमापालाई मामा भनी सम्बोधन गरेर सुन सबै उसैलाई बोकाई आफ्नो घर आउँछन् । केशचन्द्र फेरि धनी हुन्छन् । तर उनी पहिले जस्तो जुवाडे नभई धर्मकर्ममा लाग्छन् ।

उता उनको घरमा राखिएको गुरुमापाले भने कसैले नदेख्ने गरी टोलका बच्चाहरु चोरेर खान थाल्छन् । यो कुरा थाहा पाएर केशचन्द्रले उनलाई आफ्नो टोलभन्दा अलि पर त्यापाद्वः भन्ने ठाउँमा राख्न लाग्छन् । तर गुरुमापाले त्यहाँ बसेर पनि बच्चा खान छोड्दैनन् ।

अन्तमा उनलाई शहरबाटै बाहिर टुँडिखेलको बीचमा राखेर दिनको एक मुरी चामलको भात र एउटा राँगोको मासु ख्वाउन ल्याउँछौँ तर टुँडिखेलबाट बाहिर आउन पाइँदैन भनेर कबुल गराउँछन् ।

कबुल अनुसार गुरुमापा टुँडिखेल भित्रै बस्छन् । र, यता टोलवासीले पनि कबुल अनुसार उनलाई दिनहुँ मासु भात खुवाउन लाने गर्छन् । त्यसैको प्रतीक स्वरुप अहिले हरेक वर्ष होली पूर्णेका दिन किलागल टोलवासीले चौरासी व्यञ्जनै पकाएर गुरुमापालाई खुवाउने गर्दै आइरहेको छ ।

गुरुमापालाई भात खुवाउने यो पर्व पनि अहिले काठमाडौंको एक विशिष्ट पर्वका रुपमा निरन्तर मनाइँदै आइरहेको छ ।