उपराष्ट्रपतिमा महिला खोज्दै आयोग, जसपा र नागरिक उन्मुक्ति दुबै दलको दाबी

काठमाडौं, २६ फागुन । एमालेसँग छुटेर बनेको नयाँ गठबन्धनमा उपराष्ट्रपतिको निर्वाचनलाई लिएर विवाद हुने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै गठबन्धनमा उपराष्ट्रपतिको विषयलाई लिएर विवाद हुने देखिएको हो । गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दल उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) लाई दिन सहमत छन् ।

तर, राष्ट्रपतिको निर्वाचन भए लगत्तै उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेपछि गठबन्धनमा लफडाको संकेत देखिएको छ । ‘उपराष्ट्रपति जसपालाई दिने भनेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलसँग सहमति भएको कुरा हो,’ जसपाका एक नेताले भन्नुभयो, ‘अहिले ककसले दाबी गर्नुभयो, त्यो जानकारी भएन । हामी गठबन्धनको बैठक बसेर निर्णयमा पुग्छौँ ।’ जसपाले निर्णय अनुसार नै बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरिसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिनुभएको छ ।

जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवारको मनोनयन दर्ता गराउन आग्रह गरिएको छ । राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।

‘निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेसँगै जसपालाई थप संकट देखिएको छ । जसपाले नै उपराष्ट्रपति पाउने अवस्थामा सो पार्टीले अर्को पात्र खोज्नुपर्ने हुन्छ । जसका कारण जसपाले नै उपराष्ट्रपति पाउँदा पनि यादवको संभावना कम देखिएको छ । उपराष्ट्रपतिको मनोनयन भोलि हुँदैछ ।